इंग्ल्याण्डमा आइसोलेशन अवधि घट्यो, पाँच दिनमात्र बसे पुग्ने

एजेन्सी । इंग्ल्याण्डमा कोरोना संक्रमण पोजिटिभ भएकाहरुकाहरुका लागि आइसोलेशन अवधि घटाइएको छ । यसअघि १४ दिनबाट १० दिन हुँदै आइसोलेशन अवधिलाई घटाएर सात दिनमा झारिएको थियो । बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आउँदो सोमबारबाट लागू हुनेगरी नयाँ नियमको घोषणा गरेका हुन् ।

सोमबारबाट कोरोना संक्रमण पोजिटिभ भएका मानिसहरुले पाँच दिन आइसोलेशन बसेर पाँचौ र छैटौं दिनको नेगेटिभ ‘ल्याटेरल फ्लो टेष्ट’ गरेपछि आइसोलेशनमुक्त हुन सक्नेछन् ।

बेलायतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र भएपछि स्वास्थ्य क्षेत्र लगायतका विभिन्न ठाउँमा कर्मचारी अभावका कारण संकटको अवस्था सृजना भएको छ । आइसोलेशन अवधि अमेरिकामा पनि पाँच दिनमा सिमित गरेपछि बेलायतमा पनि आइसोलेशन अवधि घटाउनको सांसदहरुले चर्को दवाब दिंदै आएका थिए ।

नयाँ नियमले अर्थव्यवस्था र शिक्षा क्षेत्रमा थप सहज हुने मन्त्री जाविदले बताएका छन् । दुई तिहाइ कोरोना पोजिटिभ केसहरु पाँच दिन बन्दा बढी नरहने बेलायतको स्वास्थ्य एजेन्सीले बताएका छन् ।

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण सुरु भएपछि बेलायतमा महामारीयाताकै सबैभन्दा बढी संक्रमित हुँदै आएका छन् । यद्धपि पछिल्ला केहि दिनयता संक्रमण दर ओरालो लाग्दै गएपनि मृत्युदर भने उकालो लाग्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार