पुरानो बसपार्कमा निर्माणाधीन सभागृहको काम अन्तिम चरणमा

घोराही । घोराही–१४ स्थित पुरानो बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय सभागृहको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य शुरु गरेको चार वर्षपछि ९९ प्रतिशत काम सम्पन्न भइसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले अहिले विद्युत जडान, पानीको लागि डिप बोरिङ र रंगरोगनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । सभागृह निर्माणका लागि घोराही नगर विकास समितिले करिब १३ कट्ठा जग्गा उपलब्ध गराएको थियो । सभागृह निर्माणका लागि नेपाल सरकारको करिब २६ करोड ७७ लाख र दाङ जिल्ला उद्योग वाणिज्य संघको करिब तीन करोड २३ लाख रुपैयाँ गरी ३० करोडबढीको लागत रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

उक्त सभागृह आठ सयदेखि हजारजना जति मानिस अट्ने सिट क्षमताको रहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । उहाँले पहिले नै सभागृहको निर्माण भइसक्ने भए पनि कोभिडका कारण काम रोकिएको र अहिले अन्तिम चरणमा पुगेको बताउनुभयो । साथै उहाँले अबको एक महिनाभित्रै उक्त सभागृह हस्तान्तरण हुने पनि बताउनुभयो ।

सभागृह निर्माणका लागि घोराही नगर विकास समितिले उपलब्ध गराएको जग्गामा बसोवास गरेका सुकुम्वासीहरुको व्यवस्थापन गर्न उद्योग वाणिज्य संघले घोराही–१३ मा रहेको आफ्नै जग्गामा स्थानान्तरण गरेको संघले जनाएको छ । सुकुम्बासीहरुका लागि उक्त ठाउँमा पानी, बिजुली र अन्य सुविधाको व्यवस्थापन गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

उक्त सभागृह निर्माणका लागि उद्योग वाणिज्य संघले घोराहीमा महोत्वस सञ्चालन गरी आर्थिक संकलनको काम गरेको थियो । २०७६ पुस महिनाभित्रै निर्माणको काम सक्ने गरी २०७४ साल पुस महिनादेखि बंगलामुखी गौरी पार्वती जेभी कम्पनीले काम शुरु गरेको भए पनि विभिन्न कारणले गर्दा निर्माणमा ढिलाइ हुँदै आएको थियो ।


-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार