कन्ट्याक्ट ट्रेसिङमा परेका ओली जिल्लातिर

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सो पार्टीको उपल्लो तहका दर्जनौं नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रचण्डसहित सत्ता गठबन्धनको बैठकमा बसेका नेता र प्रधानमन्त्रीसँग भेटेका प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

गत शुक्रवार प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए । बालुवाटारमा बसेको उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध पाँचै दलका शीर्ष नेताहरु सहभागी भएका थिए ।

बैठकमा प्रचण्डसहित प्रधानमन्त्री देउवा,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,काँग्रेस नेता रामचन्द्र पौडेल,जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरु बसेका थिए ।

प्रचण्डसहितको बैठकमा बस्नुभएका प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग पनि भेट गरेका थिए । संसद्को अवरोध हटाउनेबारे ओलीलाई मनाउन देउवाले नै पहल गर्नुपर्ने गठबन्धन बैठकको सुझावपछि ओलीलाई भेट्न देउवा बालकोट पुगे ।

प्रचण्डलाई कोरोना संक्रमण भएको थाहा पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ । गठबन्धन बैठकमा सहभागी अन्य नेताहरु पनि हिजोदेखि आइसोलेसनमा छन् ।

तर, देउवासँग भेटेपछि कन्ट्याक्ट ट्रेसिङमा परेका ओली भने आइसोलेसनमा बसेका छैनन । बरु, गृहजिल्ला झापाको पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन उनि त्यसतर्फ जाने बताइएको छ ।

झापाबाट संखुवासभा जाने कार्यक्रम रहेको छ । हालै सम्पन्न पार्टीको आठौँ महाधिवेशनपछि प्रचण्डसहित माओवादी केन्द्रका दर्जनौँ नेतालाई कोरोना भएको थियो ।

तर, कोरोना परीक्षण नगर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरुसँग राजनीतिक भेटघाट गरेकाले शीर्ष नेताहरु सबै संक्रमणको जोखिममा परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार