पत्रपत्रिका : काल बन्दै कोइलाखानी

  पहिलो पेज

 84 पटक हेरिएको

घोराही–१९ दुइखोलीका भक्तबहादुर घर्तीको ४६ वर्षको अल्पायुमै मृत्यु भयो । घोराही उपमनपा–१ काउले दाम्जास्थित पशुपति कोइलाखानीमा मजदुरी गर्ने घर्तीले ०७८ मंसिर २७ गते खानीमै च्यापिएर ज्यान गुमाउनुपरेको हो । मजदुरी गरेर परिवारको पालनपोषण गर्दै आएका घर्तीले सुरुङभित्र २० वर्षदेखि कोइला खन्ने र बोक्ने काम गर्नुहुन्थ्यो । सुरुङभित्र बगाएको पसिनाले घर्तीको पाँचजनाको परिवार धानिएको थियो तर त्यही कोइला सुरुङ नै घर्तीको काल बन्यो । कोइला निकाल्दै गर्दा खसेको ढुंगाले च्यापिएर घर्तीको जीवन लीला समाप्त भयो ।
एक वर्ष भयो घोराही–१९ राम्चेस्थित कोइलाखानीमा त्रिसाङका मोहनलाल कामीको पनि काम गरिरहेको बेला च्यापिएर मृत्यु भयो । १७ दिनकी नाबालकसँगै तीन छोरी, दुई छोरा र श्रीमतीको लालनपालनका लागि मोहनलाल राम्चेस्थित कोइलाखानीमा काम गर्नुहुन्थ्यो । हात मुख जोड्ने जोहो गाउँघरमै पाइएको रोजगारीले सहज पनि बनाइदिएको थियो तर त्यही कोइलाखानीका कारण मोहनलालले परिवार पाल्ने मोह पूरा गर्न सक्नुभएन ।
मोहनलाल र भक्तबहादुर प्रतिनिधि पात्र मात्रै हुन् । घोराही उपमहानगरपालिकाका विभिन्न स्थानमा सञ्चालित कोइलाखानीमा अहिलेसम्म छ जनाले ज्यान गुमाइसकेका छन् । त्यसमध्ये पाँचजना त घोराही उपमनपा–१९ का मात्रै छन् । घोराही–१९ मा दुईवटा कोइला खानी सञ्चालनमा छन् । तोष कोइलाखानी र राम्चे कोइलाखानीमा परेर पाँचजनाको मृत्यु भएको छ । २०४५ सालमा सञ्चालनमा आएको तोष कोइलाखानीमा स्थानीय तीनसहित चार र २०६१ सालमा सञ्चालनमा आएको राम्चे कोइलाखानीमा एकजनाको च्यापिएर मृत्यु भएको हो । घोराही–१ काउलेमा अर्का एकजनाको मृत्यु भयो । तोष कोइलाखानीमा रोल्पा रुन्टिगढी–६ का ४१ वर्षीय मनपुर पुन, घोराही–१९ का ३२ वर्षीय दुर्गाबहादुर राना, सोही ठाउँकै १६ वर्षीय बेगबहादुर पुन, घोराही–१९ तोषका ४५ वर्षीय डम्बर घर्ती र राम्चे कोइलाखानीमा त्रिसाङ निवासी मोहनलाल कामीको मृत्यु भएको थियो । पहाडी क्षेत्र, उत्पादन कम र रोजगारीका अरु सम्भावना नहुँदा स्थानीय अतिजोखिमपूर्ण भए पनि गाउँघरमै जोखिम मोलेर कोइलाखानीमा काम गर्दै आएका छन् ।
 
परिवारको बिचल्ली
काम र कमाइ गर्ने घरको मुली नै खानीमा च्यापिएर मृत्यु भएपछि उनका परिवारलाई समस्या भएको छ । घोराही–१ काउले खानीमा च्यापिएर भक्तबहादुर घर्तीको निधन भएपछि उहाँका कान्छी छोरी, दुई छोरा र श्रीमतीलाई घर धान्न समस्या भएको छ । भक्तबहादुरको मृत्यपछि परिवार पाल्न धौधौ भएको पत्नी दुर्पती घर्तीले बताउनुभयो ।
‘परिवारको रेखदेख गर्ने, कमाउने उहाँनै हुनुहुन्थ्यो अब कमाउने मान्छे कोही पनि छैन’– दुर्पतीले भन्नुभयो । यस्तै समस्या मोहनलाल कामीको मृत्युपछि उहाँका परिवारलाई पनि भएको छ । १७ दिनको छोरी हुँदा मोहनलालको खानीमा च्यापिएर मृत्यु भयो । उनी एक वर्ष नहुँदै आमाको पनि मृत्यु भएपछि नाबालकसहित तीन छोरी र दुई छोराको रेखदेख अहिले आफन्तले गरिरहेका छन् ।
 
छैन सुरक्षा सामग्री
घोराही उपमहानगरपालिकामा अहिले तीनवटा कोइलाखानी सञ्चालनमा छन् । घोराही–१ को काउले दाम्जामा पशुपति कोइला उद्योग, घोराही–१९ को राम्चेस्थित सप्त श्री साई कोल उद्योग र तोषको कञ्चन कोल उद्योगले सञ्चालन गरेका कोइलाखानी छन् । जहाँ यी तीनवटा खानीमा स्थानीय र बाहिरका गरी एक सय मजदुर कार्यरत छन् । लामो भूमिगत सुरुङभित्र कोइला खन्ने, सुरुङबाट बाहिर निकाल्ने र निकालेको कोइला बिक्री केन्द्रसम्म लैजाने काममा ती मजदुरहरुले काम गर्छन् तर सुरुङभित्र कोइला खन्ने केही मजदुरलेमात्रै हेल्मेट र काठको टेकासो लगाएर सुरक्षाको जोहो गर्दै आएका छन् । अधिकांश मजदुरहरुले सुरुङभित्र काम गर्दा सुरक्षाका कुनै उपाय नअपनाएको तोष कोइलाखानीमा कार्यरत विष्णु बुढाले जानकारी दिनुभयो । उहाँकाअनुसार कोइलाखानी सञ्चालकले हेल्मेट ल्याइदिए पनि मजदुरले हेल्चक्र्यार्इं गरेर लगाउँदैनन् । ‘अरु सुरक्षा सामग्री छैन, मालिकले हेल्मेट ल्याइदिन्छन्’– विष्ष्णुले भन्नुभयो– ‘तर हामी भारी बोक्नेलाई हेल्मेट लगाउँदा अप्ठेरो हुने भएकाले लगाउँदैनौं ।’ उहाँले सुरुङभित्र काम गर्नका लागि अरु सुरक्षा सामग्रीबारे कुनै जानकारी समेत नभएको बताउनुभयो ।
 
‘सुरुङमा काम गर्ने भनेको जोखिम मोल्नु हो । त्यही भएर पाँच लाखको दुर्घटना बिमा बनाइदिएका छौं’– राम्चेस्थित कोइलाखानीका सञ्चालक राम दाहालले भन्नुभयो– ‘अरु सुरक्षाका लागि हेल्मेट उपलब्ध गराएका छौं । त्यसको प्रयोग त मजदुरहरुले नै गर्नुपर्छ ।’ जोखिमबाट जोगिन सुरक्षा अपनाउनुपर्छ भन्ने कुरालाई कडाइका साथ लागु गर्ने र स्वयं मजदुरहरुलाई पनि सचेत पार्ने काम गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । सुरक्षा नअपनाउँदा अरु थुप्रै मजदुर घाइते तथा अंगभंग हुने गरेका छन् ।
खानीमा दुई सय मिटर भन्दा बढी भित्र सुरुङमा छिर्नुपर्छ तर विद्युतको व्यवस्था छैन । मजदुर आफैले लाइट मुखमा च्यापेर भारीसँगै सुरुङको भित्र बाहिर गर्छन् । राम्चे खानीमा कार्यरत मजदुर राम पुनले जेनेरेटरको सुविधा भए पनि पानी निकाल्नको लागि मात्र प्रयोग हुने गरेको र नियमित विद्युत नहुँदा खानीमा काम गर्न गाह्रो भएको बताउनुभयो । घोराहीका दम्ती, त्रिवेणी टोल, गोठीबन, होडबाङ, सैघा, पटिन्जा, तिर्साङ, बयालीकोट, दुइखोली, गलेनालगायतका गाउँका मजदुरले काठमाण्डौंमा इट्टा बोक्ने काम र कोइलाखानीमा जोखिमपूर्ण मजदुरी गरिरहेका छन् । उनीहरुले एक सिजनमा कोइला निकालेबापत एक लाखसम्म कमाउने गरेका छन् ।
नयाँ युगबोध राष्ट्रिय दैनिकमा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार