सीडीओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृह मन्त्रालयको सर्कुलर

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखहरुलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ ।

गृह मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरेका हुन् ।

उनले गृहमन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौविसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे ।

राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने मन्त्री खाँणको भनाइ छ । ‘नयाँ चुनौती र दायित्व आउन सक्छन्,’उनले भने, ‘सामना गर्न कर्मचारी तयार हुनुपर्छ ।’

कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री खाँणले अहिले दुई घण्टा लाग्दै आएको कामलाई डेढ घण्टा र छ घण्टा लाग्दै आएको कामलाई पाँच घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुनेतर्फ ध्यानाकर्षण गराए । मन्त्री खाँणले मन्त्रालय र मातहतका कार्यालयमा कोही पनि हाकिम कर्मचारी नभइ सबै एकै परिवारका सदस्य रहेको पनि बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार