माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्दैछ । आइतबार सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय समितिमा २३६ जना चयन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्दै महाधिवेशन सम्पन्न गरेका हुन् । प्रचण्डले प्रस्तुत गरेको खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

सोमबार बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्ने प्रवक्ता महराले बताए । सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्न सक्नेछ ।

कूल २९९ सदस्यीय केन्द्रीय समितिमा अब क्लस्टर अर्थात् समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बाँकी छ । उनीहरू अब केन्द्रीय समितिबाट मनोनीत हुने उनले बताए ।

महराका अनुसार बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउनेछ । आजको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित थप केन्द्रीय सदस्य चयन गर्ने महराले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार