कांग्रेस अर्काले पस्केको खाने जात होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।

नेता थापाले अबको महाधिवेशनबाट कांग्रेसले सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने बताएका हुन् ।

शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस अर्काले पस्केको खाने जात नभएको भन्दै आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने उद्घोष गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने–‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ । कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

नेता थापाले यो महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको बताए । ‘म एउटा कांग्रेसको कार्यकर्ता भएको हिसाबले ठान्दछु, आज जसरी कांग्रेस चलेको छ, यसै गरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन सक्दैन । कांग्रेसभित्र ठूलो सुधारको खाँचो छ । कांग्रेसलाई शुद्धीकरणको खाँचो छ, सुदृढीकरणको खाँचो छ,’ थापाले भने ।

उनले भने,‘सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भनेपनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्नेछ अबको ५÷६ महिनाभित्रमा । त्यसैले तपाईहरुले विवेकपूर्ण निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार