‘जनताको बहुदलीय जनवाद’ माथि घनश्याम भुसालको फरक मत

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाउनु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि तीन बूँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरीकन अघि बढनै नसकिने तर्क समेत गर्नुभएकाे हाे।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आईतबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेको छैनौ– अहिलेसम्म । त्यसलाई सिद्धान्तको रुपमा परिभाषित गरेका छैनौं, अफिसियल्ली आधिकारिक रुपले । त्यसलाई ब्याख्या गरेका छैनौ । यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौं । जनताको बहुदलीय जनवादको यत्रो कुरा गरेका छौं । तर त्यो के हो ? भन्ने कुरा नै नभनेर पनि जान सकिन्छ ? तसर्थ यो पनि हामीले परिपूर्ण गराऔं भन्ने मेरो कुरा हो ।’

उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ति छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गर्नुभयो ।

उपमहासचिव भुसालले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको उल्लेख गर्दै त्यसमा हामी भित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताउनुभयो ।

त्यसैगरी, उहाँले समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार