फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट फिर्ता बोलायो राजदूत

काठमाडौं । फ्रान्स पछिल्लो समय अमेरिका र अस्ट्रेलियासँग रुष्ट भएको छ। जसकारण फ्रान्सले आफ्नो राम्रो साझेदार मानिएको राष्ट्र अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने निर्णय गरेको छ।

फ्रान्सले विचार–विमर्श गर्नको लागि राजदूत फिर्ता बोलाएको बीबीसीले जनाएको छ। वास्तवमा हालै अमेरिका, अस्ट्रेलिया र बेलायतबीच त्रिदेशीय सुरक्षा सम्झौता भएको थियो। सोही सम्झौताको विपक्षमा फ्रान्स देखिएको बुझिएको छ।

फ्रान्सका विदेशमन्त्रालयले राजदूत फिर्ता गर्नुको कारणबारे भनेका छन्,‘असाधारण गम्भीरता देखिएपछि असाधारण फैसला गरिएको हो।’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको सम्झौतालाई ‘आकस’ सम्झौता भनिएको छ। यो सम्झौतामा अस्ट्रेलियालाई पनडुब्बी बनाउन बेलायत र अमेरिकाले सहयोग गर्नेछ।

अस्ट्रेलियाले अमेरिकासँग पनडुब्बी खरिद गर्ने सम्झौता पनि गरेपछि अस्ट्रेलिया र फ्रान्सबीच भएको अरबौं डलरको रक्षा सम्झौता अन्त्य भएको छ जसका कारण फ्रान्स अस्ट्रेलिया र अमेरिकासँग रुष्ट भएको हो।

पाँचवर्ष अगाडि अस्ट्रेलियाले फ्रान्सबाट १५ पनडुब्बी खरिद गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। तर अहिले अस्ट्रेलियाले अमेरिकासँग सम्झौता गरेर आफूसँगको सम्झौता तोडेपछि फ्रान्सका विदेशमन्त्री जिन ईभ्स ले ड्रियाले अमेरिका र अस्ट्रेलियाले आफूलाई पछाडिबाट छुरा हानेको बताएका छन्।

५६ अर्ब यूरोमा पनडुब्बीको सम्झौता भएको थियो। यतिबेला सम्झौता उल्टाउँदै रक्षा सम्झौता अमेरिकाले आफ्नो हातमा प्राप्त गरेपछि फ्रान्सले अमेरिकालाई बेइमानको संज्ञा दिएको छ। विदेशमन्त्री जिनका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अस्ट्रोलियासँगको रक्षा सम्झौता उल्टाउन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै भूमिका खेले।

यतिबेला फ्रान्सले आफ्ना साझेदार राष्ट्रबाट राजदूत फिर्ता बोलाएसँगै यो विश्वभर चासोको विषय बनेको छ। त्रिदेशीय सम्झौतामा हिन्द–प्रशान्त महासागरमा चीनको चुनौतीलाई एक भएर सामना गर्ने पनि सहमति भएको छ। बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार