प्रतिनिधि सभाको वैठक बस्दै, एमालेको अवरोध जारी रहने आशंका

काठमाडौं । प्रतिनिधि सभाको वैठक मंगलवार बस्दैछ ।

आइतवार प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि स्थगित भएको संसद वैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले एकीकृत समाजवादीका १४ सांसदको माग राख्दै संसदमा निरन्तर विरोध गर्दै आएको छ ।

आइतवार पनि संसदमा अवरोध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग वैठकस्थलमै छलफल गर्नुभएको थियो ।

तर सभामुखले सहमतिमा आउन गर्नुभएको आग्रहपछि पनि एमालेका सांसदहरुले अवरोधलाई जारी राखेपछि सभामुख सापकोटाले अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिदैँ बैठक स्थगित गर्नुभएको थियो ।

सभामुख सापकोटाले करोडौँ जनताको आवाजको प्रतिनिधित्व गर्ने संसद चल्नुपर्नेमा जोड दिदैँ आफूले संविधान, नियम, कानून अनुसार नै अगाडी बढ्ने मूल मान्यता भएको बताउदै आउनुभएको छ ।

उहाँले समन्वय र समझदारी गरी वादविवादलाई संम्वादमा पु¥याउनुपर्ने बताउँदै सम्वादमा आउन प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुलाई पटक पटक आग्रह गर्दै आउनुभएको छ ।

यसैबीच संसदमा जारी अवरोधलाई संवादको माध्यमबाट निकास दिने उदेश्यले सभामुख सापकोटाले सोमवार बोलाउनुभएको सर्वदलीय वैठक पनि एमालेको बहिस्कारपछि औपचारिकतामा मात्र सीमित भएको छ । एमालेकै सांसदहरु अनुपस्थित रहेपछि सर्वदलीय वैठक सामान्य छलफलमा सीमित रहेको थियो ।

एमालेले १४ सांसदमाथिको कारवाही सदर गर्नुपर्ने अन्यथा सभामुख आफैंले नैतिकताका आधारमा राजिनामा दिने अडान दोहोर्याइरहँदा मंगलवारको वैठक पनि अवरोध हुनसक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार