थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

दाङ । थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ ।

थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर (भिन्स¥या भाट) खाने गर्दछन् । दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । उहाँले भन्नुभयो,“ दिउँसो पुरुष बर्तालु नुहाइधुवाई गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन् । रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ । सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठूलो हुन्छ । पहिलो रोटी थारू लोकविश्वासअनुसार भीम (पाण्डुका माइला पुत्र)का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।”

टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्को दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । सस्ंकृतिविद् थारूका अनुसार यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ ।

“अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाई गरेर बर्तालुहरू खाना पकाउन थाल्छन् । खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिण्डो अनिवार्य हुनुपर्छ । अन्य मौसमी तरकारी भए पनि राम्रो मानिन्छ । खाना पकाइसकेपछि सबै बर्तालु लिपेको चोखो ठाउँमा बस्छन् । आफनो टपरी र दुनाबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन् । ” उहाँले भन्नुभयो ।

छुट्टै दुना, टपरीमा केही अंश छुट्याएर राख्छन् । त्सपछि आफू खान्छन् । साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीलाई दिन जान्छन् । आफूले खाने खाना साकाहारी भए पनि दिदीबहिनीलाई दिन जाँदा माछा, मासु पकाएर दिने चलन छ । चेलीबेटी अग्रासन आउने दिन हर्षित हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्छन् ।

यो अग्रासनले माइतीको माया, पे्रम र सद्भावलाई दर्शाउँछ । ‘अग्रासन’ले पराइघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीक हो । सस्ंकृतिविद् भन्नुभयो, “दाङ सुकौराका थारू राजा दङ्गीशरणको दरबार घोडारुपी उर्वसीका कारण स्वर्गका राजा इन्द्रले आक्रमण गरिदिने धम्की दिएपछि भीमले निजलाई शरण दिएपछि भीम र दङ्गीबीच निकै घनिष्टता बढेको मान्यता छ । एकपटक कुनै शत्रुले दङ्गीमाथि आक्रमण गरेपछि रोटी पकाउँदा–पकाउँदै त्यसै छाडेर भीम दङ्गीको सहयोगमा गएछन् । संयोगले त्यो दिन आइतबार नै परेछ । त्यसैबेलादेखि यही घटनाको सम्झनामा भीमलाई सम्झिएर अट्वारी पर्व मनाउन थालिएको हो ।”

परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो । “यो थारूहरुको माघिपछिको ठूलो पर्व हो”, थारू कल्याणकारीसभाका अध्यक्ष भुवन चौधरीले भन्नुभयो । आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्दछन् । बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ । जिल्ला स्थानीय तहले आज पर्वका अवसरमा बिदा दिएका छन् । घोराही तुलसीपुर उपमहानगरपालिका सहित राप्ती, दङ्गीशरण, गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार