संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अर्थमन्त्री शर्माले आर्थिक अध्यादेशसँगै राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन अध्यादेश, २०७८ समेत प्रस्तुत गर्नु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘शपथसम्बन्धी अध्यादेश २०७८ लाई स्वीकृत गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

कार्यसूची अनुसार प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले त्यसलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका प्रधानमन्त्री देउवाले रेल्वे अध्यादेश २०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक भदौ २३ गतेदेखि शुरु भएको थियो । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो । अवरोधका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा टेबुल गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार