एमसीसी सम्झौता नेपालको हितमा छैन : भीम रावल

काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको भन्दै आलोचना गरे ।

एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने उनको टिप्पणी छ ।

आइतबार एक साक्षात्कारमा नेता रावलले एमसीसी सम्झौताको पूनरावलोकन गर्ने अधिकार पनि एमसीसीलाई मात्रै रहेको भन्दै आपत्ति जनाए । एमसीए नेपाल पनि नेपाल सरकारप्रति उत्तरदायी नहुने भनिएकोमा रावलले आपत्ति जनाए ।

नेपाली जनताका प्रतिनिधिहरु अब छिट्टै नै बस्ने संसदमा नेपाल सरकार र एमसीसी सम्झौता के गर्छौ भनेर हेरिरहेको सुनाए । उनले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको पनि सुनाए ।

उनले भने, ‘यो सम्झौता असमान छ । प्रावधानले नेपालको आत्मनिर्णयको अधिकारमा आँच पुर्‍याउँछ । अनुदान भनेपछि यो अमेरिकी योजना हो भन्ने कुरा प्रष्ट छ । ३८.५ प्रतिशत रकम कहाँ खर्च हुन्छ भनेर विस्तृत रुपमा भनिएको छैन ।’

एमसीसी सम्झौता नेपालको कानूभन्दा माथि रहने भनिएकोमा पनि उनले आपत्ति जनाए । उनले भने, ‘अमेरिकाको अहिलेको कानून नेपालको भन्दा माथि हुने भनिएको छ, त्यो मात्रै होइन भोलि पनि माथि नै हुने भनिएको छ । यस्तो दफा राख्ने नेपाल राज्यको कर्मचारी होइनन्, तिनीहरु विदेशका दलाल हुन् ।’

एमसीसीको विरुद्धमा बोल्न पाउँदैन भनेर सूचना जारी गर्ने गृह मन्त्रालयका कर्मचारीलाई दण्डित गर्न रावलले माग गरे । उनले एमसीसी सम्झौता संशोधन नगरी संसद्बाट पारित गरिए त्यो राष्ट्रघाती हुने पनि बताए । उनले एमसीसी संशोधन नगरी पारित गर्नेहरु राष्ट्रघाती हुने पनि उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार