एमालेले निष्कासन गरेका १४ सांसद नहटाउने सभामुखको निर्णय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले ह्वीप उल्लंघनको आरोपमा नेकपा एमालेले निष्कासन गरेका १४ जना सांसदहरूको पद रिक्त नगर्ने निर्णय गरेका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि उनीहरु अर्कै दल दर्ता गरी आएकाले सभामुख सापकोटाले कारबाही गर्नु नपर्ने निर्णय गरेका हुन्।

ती सांसदहरूले राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भइसकेका कारण पद रिक्त नगर्ने निर्णय भएको पाण्डेको भनाइ छ।

नेकपा एमालेले भदौ १ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ जना सांसदहरू मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोपमा कारबाही गरेको थियो ।

यसअघि एमाले अध्यक्ष केपी ओलीले आफूले कारवाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखलाई धम्की स्वरुप सभामुख बनिरहन मन छ कि छैन भन्दै ठाडो हकारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार