महाधिवेशनमा केन्द्रित हुने पौडेल समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको बैठकले महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ ।

सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूहका नेताहरुको शनिबार बिहान छलफल भएको थियो । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रीत हुने निर्णय गरेको हो ।

यस्तै क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखिको रिले अनशनमा आज तोडिने भएको छ ।

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने जानकारी दिए ।

नेता सिंहले भने, ‘विधि, नियम अनुसार क्रियाशील सदस्यताको बाँकी काम छानबिन समितिले छिटो टुंग्याउने र महाधिवेशनमा जाने सभापतिज्यूसँग सहमति भएको छ ।’

उनले रिले अनशनमा बसिरहेका जिल्ला सभापतिहरुको माग पूरा गर्ने वातावरण बनेको बताए । अनशन अन्त्य गरेर महाधिवेशनलाई सफल बनाउन अनुरोध गर्ने कुरा भएको नेता सिंहको भनाई छ ।

उनले निर्वाचन समितिले सल्लाह गरेर काम गरिहेको उल्लेख गर्दै तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताप्रति आफूहरु सचेत रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार