दलित समुदायलाई वितरण गरिएको धुवाँरहीत चुल्हो खरिदमा अनियमितता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका- ११ कटी गाउँस्थित दलित वस्तीमा वितरण गरिएको धुवाँरहीत चुल्हो खरिदमा अनियमितता भएको पाइएको छ ।

धुवाँरहीत आधुनिक फलामे चुल्हो वितरण गर्ने भनि सम्झौता गरिए पनि टिनको कमसल खालको चुल्हाे वितरण गरिएको हाे । पूर्ण जातीय छुवाछुतमुक्त अभियान अन्र्तगत चुल्हो किनेर वितरण गरिएको थियो ।

टिनको चुल्हो भएकोले बाल्ने वित्तिकै निकै तातिने र टुट्ने थालेपछि भएपछि प्रयोग गर्न छोडेको स्थानीय दलबहादुर कामीले बताए ।

चौरजहारीमा १७ सय पर्ने चुल्होलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली विल पेश भएको दाबी गरिएको छ ।

भेरी नगरपालिकाले चुल्होे खरीद र वितरणका लागि कटीगाँउ कृषक समूहसँग सम्झौता गरेको थियो । समूहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् ।

समितिका अध्यक्ष नरबहादुर आफूलाई फसाइएको बताउँछन् । सस्तोमा खरीद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर ठग्ने कार्य भएको उनको दाबी छ ।

उनका अनुसार कोषाध्यक्षका श्रीमान अमृत वर कामीले नै एक सय ३८ चुल्हो खरीद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफूहरूले अमृतलाई दिएको र उनैले सुर्खेतबाट चुल्हो किनेर ल्याएको उनले बताए ।

अध्यक्ष नरबहादुरले नगरबाट १३ लाख ५६ हजार रुपैयाँ निकासा भएकोमा सम्झौता अनुसार अनुगमन र केही चुल्हो खरीदका लागि दुई लाख ५० हजार रुपैयाँ नगरपालिकालाई दिएको बताए । त्यस रकमबाट २० वटा चुल्हो किनेर उपलब्ध गराएको बताए ।

नगरले उपलब्ध गराएका चुल्हो राम्रो भएको तर समितिले खरीद गरेका चुल्हो निकै कमसल भएको उनले स्वीकार गरे ।

कोषाध्यक्षका श्रीमान अमृतले विपन्न गाउँमा चुल्हो कार्यक्रमका लागि आफूले पहल गरे पनि खरीदमा आफ्नो संलग्नता नभएको दावी गरे ।

भेरी नगरपालिका-११ नम्बरका वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुल्हो कमसल रहेको भन्दै स्थानीयबाट गुनासो आएको बताए ।

नगरपालिकाले पूर्ण जातीय छुवाछुतमुक्त अभियान अन्तर्गत १४ लाख ७५ हजार रुपैयाँ गत असार ११ गते सम्झौता गरेर निकासा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार