भेरी नदीमा पुल बनाउन ठेक्का दिएको ९ वर्ष वित्यो, जगसमेत उठेन

जाजरकोट । भेरी नदीमा पुल बनाउन सुरु गरिएको नौ वर्ष बिते पनि अझै जगसम्म उठेकाे छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोड्न भेरी नदीको पुल बनाउन सुरु भए पनि ठेकेदारको लापरवाहीले अलपत्र परेको हो ।

त्यति मात्र होइन, पुल नबन्दा लोकमार्गको रुकुम–जाजरकोट खण्डको निर्माण समेत अधुरै छ । तीन वर्षभित्र पुल बनाइसक्ने गरी वाईपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले २०६९ मा ठेक्का पाएको थियो । तर, एक सय मिटर पुलेको काम अहिलेसम्म ३० प्रतिशत पनि भएको छैन । लोकमार्ग आयोजना कार्यालयका अनुसार पुलको बजेट १३ करोड ४७ लाख रुपैयाँ हो ।

पक्की पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीय नरबहादुर बस्नेतले बताए  । पुलकै कारण चौरजहारी नयाँ सहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ ।

ठेकेदारको चरम लापरवाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाकी उपमेयर भावना भण्डारीले बताइन् ।पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय, दैलेखका इन्जिनियर होमनाथ पौडेलले बताए  ।

पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउन्डेसन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन । कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ । पुल निर्माणको तत्काल अघि बढाउन ताकेता गर्दै यो वर्ष दुईपल्ट पत्राचार गरिसकेको कार्यालयले जनाएको छ ।

सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाईपी कन्स्ट्रक्सनको भनाइ छ । पुल निर्माण सुरु भएको दुई वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेकाले ढिलाइ भएकाे कन्स्ट्रक्सनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार