लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए बिश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिश्वासको मत पाएका छन् । आज सोमबारको प्रदेशसभा वैठकमा केसीले ४२ मत पाएका छन् ।

८० जना प्रदेश सांसद मध्ये आज ४३ जना उपस्थित थिए । यो बहुमत संख्या हो । पक्षमा ४२ जनाले मत दिएका थिए भने तटस्थ १ जना बसेका थिए ।

बिश्वासको मत पाउनु अघि सभालाई संबोधन गर्दे मुख्यमन्त्री केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताए ।

उनले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रदेशको अनुहार पढ्ने र बदल्ने कुरालाई आफ्नो नेतृत्वको सरकारले कहीँ अवमूल्यन नगर्ने प्रस्ट पारे ।

उनले भने, ‘मेरो नेतृत्वको सरकारले जनताको जीवनमा सुधार, स्वास्थ्य उपचारको ग्यारेन्टी गर्छ र समयसीमाभित्र पूर्ण जवाफदेही ढङ्गले ती विषयलाई सम्बोधन गर्छ ।’

पुराना सरकारका नारा एकातिर, काम अर्कोतिर भएको भन्दै उनले ती नारालाई समेत सार्थक तुल्याउने गरी काम गर्ने पनि बताए । उनले प्रतिपक्षका साथीहरूले समेत सहयोग गर्ने अपेक्षा आफूले लिएको उल्लेख गरे ।

उनले प्रतिपक्षलाई आफ्ना सबै अहम् समाप्त गरेर, सत्तामा रहने र प्रतिपक्षमा रहने कुरालाई स्वाभाविक प्रक्रिया मानेर, नैतिक मूल्य, मान्यता र आफ्नो निश्चित मर्यादा, संसदीय प्रक्रियाको अवलम्बन गर्न पनि सुझाव दिए । वैठक अबरोध गर्न केहिवेर एमाले सांसदले नाराबाजी गरेका थिए । बिरोधका बाबजुद एमाले सांसदहरुले बैठक बहिष्कार गरेर सभा हलबाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार