‘तालिबान घर आइपुगे मैले आत्महत्या गर्नुपर्ने हुनसक्छ’

काबुल । काबुलका विश्वविद्यालयका विद्यार्थीहरूले यति बेला नयाँ शैक्षिक सत्रको तयारी गर्नुपर्ने हो। तर तालिबानले सडकहरूमा गस्ती बढाएका बेला धेरैले आफ्नो जीवनका पुराना तथ्यहरू मेटाउने प्रयास गरिरहेका छन्।

हजारा अल्पसङ्ख्यक समुदायकी एक छात्राका लागि भने विश्वविद्यालय बाहिरका पुरुषहरूबाटै बढी जोखिम छ।

पछिल्ला वर्षहरूमा उनका समुदायका सदस्यहरू तालिबानको हत्या र अपहरणका सिकार बनेका छन्।

उनले आफ्नो सपना केही दिनमै अस्तित्वको डरले बदलिदियो भन्ने बारे बीबीसीलाई बताएकी छन्:

साँच्चै भन्नुपर्दा यो यस्तो विषय हो जुन म शब्दमा बयान गर्न सक्दिन।

मैले जे सपना देखेँ, जसका लागि मैले दुख गरेँ, मेरो गरिमा, मेरो गौरव र एक महिलाका रूपमा मेरो अस्तित्व – सबै खतरामा छन्।

उनीहरूलाई (तालिबान) प्रत्येक घरको तलासी गर्न र महिलाहरूलाई लगेर बलात्कार गर्न कति समय लाग्छ कसलाई थाहा छ। उनीहरू मेरो घर आइपुगे मैले आत्महत्या गर्नुपर्ने हुनसक्छ।

म मेरा साथीहरूसँग कुराकानी गरिरहेकी छु। र हामी सबैले त्यस्तै गर्ने योजना बनाएका छौँ।

उनीहरूले हामीलाई लानुभन्दा मृत्यु नै उत्तम। हामी निकै त्रसित छौँ।

दुई महिनाअघि मेरो ध्यान पढाइमा केन्द्रित थियो। आगामी शैक्षिक सत्रमा कसरी पढाइ गर्ने, के गर्ने, के नगर्ने र समयतालिका बनाउने लगायतका विषयमा योजना बनाइरहेकी थिएँ।

तालिबानले विभिन्न प्रान्तहरू आफ्नो नियन्त्रणमा लिँदा धेरै जना डराएका थिए। तर म लगायत अन्य केहीले उनीहरूले काबुलमा कहिल्यै कब्जा जमाउन नसक्ने ठानेका थियौँ।

उनीहरूले काबुलको उत्तर पश्चिममा रहेको ठूलो सहर मजार-ए-शरीफ नियन्त्रणमा नलिँदासम्म मेरो जीवन सामान्य थियो। त्यहाँ तालिबान तुलनात्मक रूपमा कमजोर थियो।

त्यो दिन मैले हाम्रो अस्तित्व समाप्त भएको महसुस गरेँ। त्यसपछि उनीहरूले काबुल कब्जामा लिए।

सहरमा गोली चलेको आवाज सुनिएको थियो र सबै स्थानमा तालिबान पुगेको हामीले सुनेका थियौँ।

मेरा परिवारका सबै सदस्य घरमै बसे। पसलहरू बन्द थिए, महँगी बढिरहेको थियो र विनिमय दर निकै छिटो परिवर्तन भइरहेको थियो।

मैले विश्वविद्यालयसम्बन्धी मेरा सबै कागजात जलाएँ। मैले प्राप्त गरेको सबै प्रमाणपत्र र कदरपत्र जलाएँ।

यो सब मैले कौसीमा गरेँ। मसँग धेरै राम्रा किताबहरू छन् जुन म पढिरहेकी थिएँ। त्यो सबै मैले लुकाएकी छु।

सामाजिक सञ्जालमा रहेका मेरा अकाउन्टहरू पनि बन्द गरेँ। सामाजिक सञ्जालमा केही पोस्ट गर्न वा सामाजिक सञ्जालमा उपस्थिति समेत खतरनाक हुनसक्ने मलाई बताइएको थियो।

तालिबानले सामाजिक सञ्जालका पोस्टहरू हेरेर त्यसैमार्फत् हामीलाई फेला पार्न सक्छन्।

म सक्रिय रहेकाले सबैभन्दा ठूलो समस्या फेसबुक थियो।

त्यहाँ मेरा पुराना पोस्टहरू थिए जसमा मैले तालिबानले केही गर्न नसक्ने, म उनीहरूविरुद्ध उभिने, शिक्षाको हक खोस्न नसक्ने र उनीहरूले मलाई घरमै सीमित गर्न नसक्ने जस्ता कुराहरू लेखेकी थिएँ।

मैले उनीहरूलाई आतङ्कवादी भन्ने गरेकी थिएँ र ती पोस्टहरू उनीहरूका लागि साँच्चै अपमानजनक थिए।

र साँच्चै उनीहरूले केही दिनमै सबै कुरा गरिसकेका छन्। यसले मलाई टुक्र्याएको छ र दुखी बनाएको छ।

महिलाहरूले परम्परागत पोसाक र हिजाब लगाउनुपर्ने तालिबानले घोषणा गरेको छ। डरका कारण महिलाहरू बुर्का र हिजाब लगाइरहेका छन्।

विश्वविद्यालयका केही छात्रहरूले कक्षाकोठामा पुरुष र महिलाबीच पर्दा लगाउनुपरेको मैले सुनेकी छु। केही परिवारले छोरीहरूलाई पढ्न जान दिएका छैनन्।

किनभने सबैलाई थाहा छ कि तालिबानले आफ्नो असली स्वरूप देखाएको छैन। तर उनीहरूले पक्कै पनि त्यो देखाउने छन् र उनीहरू त्यसबाट हुनसक्ने समस्याबाट बच्न चाहन्छन्।

मैले मङ्गलवार तालिबानको पत्रकार सम्मेलन हेरेँ जहाँ उनीहरूले महिलाहरूको हक अधिकार सुनिश्चित गर्ने वाचा गरेका थिए।उनीहरूले झुट बोलेका हुन्। मलाई थाहा छ उनीहरूले झुट बोलेका हुन्।

मङ्गलवार म औषधिको खोजीमा बुवासँग बाहिर निस्किएकी थिए। बजार सबै बन्द थियो।

मैले हिजाब लगाउनुपर्‍यो र अन्य मानिसहरूले त बुर्का समेत लगाइरहेका थिए। १३ – १४ वर्षका बालिकाहरूले समेत।

पहिले जस्तो अवस्था यहाँ छैन। पहिले जस्तो सहर नरहेको आभास हुन्छ। यहाँ जीवन छैन।

तालिबानहरू हिँडिरहेका थिए। हिजाब लगाउँदा समेत उनीहरूले यसरी हेरिरहेका थिए – मानौँ तपाईँ सामान्य मानव हुनुहुन्न, तपाईँको जिन्दगी उनीहरूको अधीनमा छ र तपाईँ फोहोर हो जसलाई फ्याँक्नुपर्छ।

मैले अध्ययन गरिरहँदा मेरो जीवनको योजना र लक्ष्यबारे मैले निकै धेरै कुराहरू परिकल्पना गरेकी थिएँ।

तर म हजारा भएकाले मैले देश छाड्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ। हजारा बालिकाहरूका लागि उनीहरूले विगतमा विद्यालयहरूमा आक्रमण गरेका छन् जसमा सयौँ मारिएका थिए।

महिलाका साथै अल्पसङ्ख्यक भएका कारण मेरै देशमा मेरा लागि कुनै स्थान छैन।

मेरो पूरै परिवार त्रसित छ। हामी तालिबानले आफ्नो नियन्त्रणमा अफगानिस्तान लिएको भोलिपल्टदेखि वैध वा अवैध जुन कुनै रूपमा यहाँबाट बाहिरिन खोजिरहेका छौँ।

विमानस्थलमा भिड छ। कसैले पनि हामीलाई उद्धार गर्न मानिरहेका छैनन्।

विभिन्न देशका सरकारहरूसँग तालिबानलाई अफगानिस्तानको सरकारका रूपमा मान्यता नदिन म आग्रह गर्न चाहन्छु। किनभने उनीहरूले त्यसको गरे हामी पक्कै पनि मर्ने छौँ।

मरेभन्दा पनि बढी, कसलाई थाहा छ र।

सबैभन्दा विक्षिप्त पार्ने कुरा के छ भने पूरै विश्व मौन छ। र उनीहरूले अफगानहरू मान्छे नै नभएजस्तो व्यवहार गरिरहेका छन्।

र यसले मेरो मन दुखाएको छ।

”सबैका लागि मानवता” भन्ने एउटा वाक्यांश छ। तर मेरो विचारमा त्यो यस्तो हुनुपर्छ – ”सबैका लागि मानवता, अफगानहरू बाहेक।”

म यस्तो विन्दुमा हुन्छु भन्ने मलाई कहिल्यै लागेको थिएन।
-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार