२ कराेड ७१ लाखकाे लागतमा ऐतिहासिक धर्मशाला पुनर्निर्माण हुँदै

पाल्पा । कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण धर्मशालाको पुनर्निर्माण पुरानै शैलीमा गरिने भएको छ । विसं २०७२ को भूकम्पले भवनमा क्षति पुगी संरचना नै कमजोर भएको धर्मशाला पुरानै शैलीमा पुनर्निर्माण गरिन लागेकाे हाे ।

आधुनिक जीवनशैलीमा प्रयोगमा आउन नसक्ने भएपछि यस धर्मशाला बेवारिसे जस्तै भएको थियो । ढिलै भए पनि अहिले धर्मशाला पुनर्निर्माणको काम अगाडि बढाएपछि यहाँका स्थानीय खुशी भएका छन् ।

विसं १८७९ मा साविक रामपुर गाविस– ८ बस्ने समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको थियो । यहाँ तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ठ व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो ।

दुई शताब्दीअघि तत्कालीन समयमा बाटो हिँड्दा बसोबास गर्ने बटुवाका लागि बास बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो । त्यस समयमा मानिस टाढाको गन्तव्य तय गर्ने र दिनहुँ हिँड्नुपर्दा पनि बीचमा बास बस्ने बाटो होटल आदिको व्यवस्था नरहेकाले यही धर्मशालामा आएर बास बस्ने र भोलिपल्ट आफ्नो निश्चित गन्तव्यतर्फ लाग्ने गर्दथे ।

पछिल्ला वर्षमा सडक सुविधा, घर बस्ती बढेसँगै यस धर्मशाला प्रयोगविहीन भएपछि संरक्षणमा कुनै पनि निकायको ध्यान जान सकेन । विसं २०७२ को विनाशकारी भूकम्पले यसलाई असर पारेपछि यो लामो समयदेखि अलपत्र अवस्थामा रही आएको छ । झण्डै दुई शताब्दीको इतिहास बोकेको यस धर्मशालालाई पुनःनिर्माणमा स्थानीय सरकारकोतर्फबाट पनि कुनै काम भने हुन सकेन । धर्मशाला जीर्ण भएपछि यसको पुनःनिर्माण पुरानैस्वरुप झल्कने गरी गर्न स्थानीयवासीले पटकपटक आवाज उठाउँदै आइरहेका थिए ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला ९गुठी० का रुपमा सञ्चालन हुँदै आइरहेको थियो । पूर्ण जीर्णोद्धार गर्न पुरातत्व विभागको विशेष पहलमा पुनर्निर्माणप्राधिकरणको करिब दुई करोड ७१ लख ४६ हजार ५५८ बजेट लागतमा अहिले पुनःनिर्माण कार्य अघि बढेको छ ।

पुरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक/एक वटा बालापाली थियो भने, छानो झिँगटीले छाइएको थियो । सोहीस्वरुपमा नै निर्माण हुने नयाँ धर्मशालाको छानो भने जस्तापाताको रहनेछ । अरु पुरानै स्वरुप यथावत् रहनेछ । यसै आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार