डिग्री शिक्षा हासिल गरेर मात्र हुँदैन, मुख्य कुरा सीप हो : शिक्षालय प्रमुख दाहाल

  अच्युतराज दाहाल (शिक्षालय प्रमुख)

 418 पटक हेरिएको

दाङलाई प्राविधिक शिक्षाको हब बनाएर पश्चिम नेपालका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने लक्ष्य राखेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले दाङको घोराहीमा शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय स्थापना गरेको छ । लुम्बिनी प्रदेशकै नमूना यस शिक्षालयमा अहिले डिप्लोमा तहमा विभिन्न ८ वटा विषयको पढाइ भइरहेको छ । आगामी दिनमा थप विभिन्न कार्यक्रमहरू ल्याउने तयारी शिक्षालयको छ । प्रस्तुत छ, यसै सन्दर्भमा शिक्षालयको स्थापना, सेवासुविधा, पढाई हुने विभिन्न विषय र शिक्षालयको आगामी योजना लगायतका विषयमा केन्द्रित भएर शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख अच्युतराज दाहालसँग गरिएको कुराकानीको सम्पादित अंश– सम्पादक ।

शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा कुन कुन विषयको पढाई भइरहेको छ ?
शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अहिले डिप्लोमा तहमा होटल म्यानेजमेन्ट, फरेस्ट्री, प्लान्ट साइन्स, आर्किटेक्चर इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी, फार्मेसी, रेडियोग्राफी र मेडिकल ल्याब टेक्नोलोजी गरेर ८ वटा विषयको पढाई भइरहेको छ ।

यी विषयहरू अध्ययन गर्नका लागि विद्यार्थीले कति शुल्क तिर्नुपर्छ ?
सबै विषय पूरा गर्नका लागि तीन वर्षमा विद्यार्थीहरूले ९५ हजार शुल्क तिर्नुपर्छ । हामीसँग भएका यी कार्यक्रमहरू निजी प्राविधिक शिक्षालयहरु पढ्दा विद्यार्थीहरुले योभन्दा निकै महँगो शुल्क तिर्नुपर्ने हुन्छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आंगिक शिक्षालय भएकाले हामीकहाँ निकै सस्तो शुल्क छ । गत वर्षसम्म हाम्रो शिक्षालयमा पनि स्वास्थ्य कार्यक्रममा विद्यार्थीहरुले १ लाख ५६ हजार रुपैयाँ तिर्ने गरेका थिए तर यो वर्ष शुल्क समायोजन गरेर हामीले सबै विषयको जम्मा ९५ हजार शुल्क लिने गरेका छौं । यसका अतिरिक्त हामीले जेहेन्दार छात्रवृत्ति र अन्य छात्रवृत्ति गरेर प्रत्येक कार्यक्रममा २÷३ जना विद्यार्थीहरुलाई निःशुल्क पढाउने गरेका छौं ।

डिप्लोमा तहका ८ वटा कार्यक्रम भनेको त धेरै भएन र ? आगामी दिनहरुमा पनि केही विषय थप गर्नुहुन्छ कि ?
हो, धेरै हो । एउटा शिक्षालयमा ८ वटा डिप्लोमा तहका कार्यक्रम चलेको यो नै एउटा शिक्षालय हो । यस क्षेत्रका विद्यार्थीहरुको माग र सिटिइभिटीको नमूना आंगिक शिक्षालय भएकाले यो शिक्षालयमा यति धेरै कार्यक्रमहरु सञ्चालनमा आएका छन् । कार्यक्रम थप गर्ने सम्बन्धमा अब हामीले तत्कालै स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रम थप गर्ने योजना गरेका छौं । आगामी दिनमा नजिकैका सरकारी अस्पतालहरुसँग सहकार्य गरेर नर्सिङ र हेल्थ असिस्टेन्ट विषय अध्यापन गर्ने तयारी भइरहेको छ । समयको माग र आवश्यकताअनुसार अन्य प्राविधिक विषयहरू थप गरिने छ ।

विद्यार्थीहरूको सीप विकासका लागि तपाईँहरूसँग प्रयोगात्मक अभ्यासको व्यवस्था कस्तो छ ?
प्राविधिक शिक्षा भनेकै प्रयोगात्मक शिक्षा हो । प्रयोगात्मक अभ्यासबिना प्राविधिक शिक्षाको कुनै काम छैन । विद्यार्थीलाई सीप सिकाउनका लागि शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीले विद्यार्थीहरूलाई “पढ्दै कमाउँदै” को नारा अघि सारेको छ । अब हाम्रो शिक्षालयमा पढ्ने विद्यार्थीहरूले यहीँ काम गरेर आम्दानी गर्नेछन् । त्यसका लागि शिक्षालयमा उत्पादन इकाई स्थापना गर्न थालिएको छ । अबको तीन महिनाभित्र उक्त इकाईले काम गर्न शुरु गर्ने छ । केही समय पहिले नै उक्त इकाई शुरु गर्ने लक्ष्य राखिएपछि अहिले कोरोना महामारीका कारण विद्यार्थीहरूको भौतिक उपस्थितिमा काम गर्न नसक्ने भएकाले शुरु हुन सकेको छैन । अबको तीन महिनामा धेरै नेपालीले खोप लगाइसक्ने भएकाले बिस्तारै जनजीवन सहज हुने देखिन्छ । जनजीवन सहज भएसँगै विद्यार्थीहरूको भौतिक उपस्थितिमा हामीले काम गर्ने छौं । यसले विद्यार्थीहरूले आफ्नो विषयमा प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गर्ने छन् भने आम्दानी समेत गर्न सक्नेछन् । केही समयभित्र पाउरोटी उत्पादन शुरु गरिने छ । त्यसैगरी फुड एण्ड डेरीका विद्यार्थीहरूले दूग्धजन्य वस्तु उत्पादन गर्ने छन् ।

विद्यार्थीहरूलाई ती वस्तु उत्पादनका लागि विषयविज्ञ प्रशिक्षकहरूले सहजीकरण गर्नु हुनेछ । उत्पादित वस्तुको बजारीकरण गर्नका लागि शिक्षालयले सहयोग गर्ने छ । हामी यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई रोजगार तथा स्वरोजगार बनाउन चाहन्छौँ । साथै विद्यार्थीहरूलाई नर्सरीमार्फत बेर्ना उत्पादन गर्न लगाइने छ । उत्पादन इकाईमार्फत विद्यार्थीहरूलाई उद्यमी बन्न सिकाइने छ । हाम्रा विद्यार्थीहरू पढ्दापढ्दै उद्यमी बनेर आम्दानी गर्न सकून् भन्ने हाम्रो उद्देश्य रहेको छ ।

यो शिक्षालय लुम्बिनी प्रदेशको नमूना शिक्षालयको रुपमा घोषणा गरिएको छ । यो नमूना शिक्षालय भनेको के रहेछ ?
शिक्षालयलाई नमूना घोषणा गर्नका लागि दुईवटा प्रक्रिया हुन्छन् । पहिलो प्रक्रिया भनेको कुनै पनि शिक्षालयमा भइरहेका काम, गतिविधि, प्रगति, भौतिक पूर्वाधारको अवस्था, शैक्षिक गुणस्तर, जनशक्तिको व्यवस्थापन लगायतका मापदण्ड पूरा गरेका उत्कृष्ट शिक्षालयलाई नमूना घोषणा गरिन्छ । अर्को प्रक्रिया भनेको कुनै पनि नयाँ शिक्षालयलाई नमूना घोषणा गरेर त्यसअनुसारको पूर्वाधार, शैक्षिक गुणस्तर, जनशक्ति व्यवस्थापन गर्न बृहत् गुरुयोजना बनाइन्छ र त्यसअनुरुप काम गरिन्छ । हाम्रो शिक्षालय नयाँ हो । अहिले सरकारले घोषणा गरेको नमूना शिक्षालयअनुसार विभिन्न काम भइरहेको छ । पूर्वाधार निर्माणको काम भइरहेको छ । जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । शैक्षिक गुणस्तर विकासका लागि कामहरु भइरहेका छन् । अबको पाँच वर्षभित्र हाम्रो शिक्षालय सरकारी घोषणाअनुरुप साँच्चिकै नमूना शिक्षालय हुने छ भन्ने हामीले विश्वास लिएका छौं ।

अहिले कुन क्षेत्रका विद्यार्थीहरुले यहाँ अध्ययन गरिरहेका छन् ?
हाम्रो शिक्षालयमा अहिले लुम्बिनी प्रदेशबाहेक कर्णाली, सुदूरपश्चिम, प्रदेश नं. २, गण्डकी प्रदेश र बागमती प्रदेशका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेका छन् । सस्तो शुल्कमा पढाई हुने भएकाले टाढा टाढाका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेका छन् ।

तपाई लामो समय प्राविधिक शिक्षालयहरुमा काम गर्नुभयो । नेपालमा प्राविधिक शिक्षाको महत्व कत्तिको देख्नुहुन्छ ?
प्राविधिक शिक्षा अहिलेको आवश्यकता हो । अब हामीले डिग्री शिक्षा हासिल गरेर मात्र हुँदैन । मुख्य कुरा सीप हो । प्राविधिक शिक्षाले विद्यार्थीहरुलाई अनिवार्यरुपमा सीप सिकाउँछ । सीप सिकेपछि रोजगार र स्वरोजगारका अवसरहरु मिल्छन् । यसले हाम्रा सन्ततिहरुलाई आत्मनिर्भर बनाउँछ । अब हाम्रा विद्यार्थीहरूले ज्ञान मात्र जानेर पुग्दैन । ज्ञानका साथै सीप जीवनका लागि निकै महत्वपूर्ण कुरा हो । हामीले हाम्रा विद्यार्थीहरुलाई मुलुकको आवश्यकताका आधारमा प्राविधिक शिक्षा दिनुपर्छ । नेपालमा लामो समयसम्म परम्परागत ढंगले विद्यार्थीहरुलाई अध्यापन गर्ने काम भयो । पछिल्लो समय देशैभरि प्राविधिक शिक्षालयहरु खुलिरहेका छन् । सबै स्थानीय तहहरुमा प्राविधिक शिक्षालयहरु खोल्ने सरकारको योजना हो । प्राविधिक शिक्षा अहिलेको अनिवार्य शर्त बनिसकेको छ । पछिल्लो समय विद्यार्थीहरुमा प्राविधिक शिक्षाप्रति ह्वात्तै आकर्षण बढेको छ । मुलुकको विकासका लागि प्राविधिक जनशक्ति उत्पादन अहिलेको प्रमुख आवश्यकता हो ।

प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरुले कत्तिको रोजगारी पाएका छन् ?
हाम्रो शिक्षालय नयाँ भएकाले यहाँबाट विद्यार्थीहरुले अध्ययन गरेर रोजगारी पाएका त छैनन् । किनकि अहिलेसम्म पनि यहाँबाट उत्तीर्ण गरेर विद्यार्थीहरु गइसकेको अवस्था छैन । तर, म योभन्दा पहिले चितवन र नेपालगञ्जमा रहेर लामो समयसम्म काम गरेँ । त्यहाँ अध्ययन गरेका विद्यार्थीहरुले राम्रो रोजगारी पाएका छन् । केही विद्यार्थीहरु स्वरोजगारमा लागेका छन् । प्राविधिक शिक्षा भनेकै रोजगारीमूलक शिक्षा हो । हामी यहाँ शहीद कृषण सेन इच्छुक बहुप्राविधिक शिक्षालयमा पनि शुरुदेखि नै चनाखो भएर काम गरिरहेका छन् । यहाँ उत्पादन भएका हाम्रा सबै विद्यार्थीहरु रोजगार तथा स्वरोजगारमा होऊन् भन्ने हाम्रो चाहना रहेको छ । यहाँ उत्पादन भएका विद्यार्थीहरु रोजगारीको बजारमा राम्रोसँग बिक्न सक्छन् भन्नेमा पूर्ण विश्वास रहेको छ ।

पछिल्लो समय प्राविधिक शिक्षातर्फ छोरीहरुको आकर्षण बढेको देखिन्छ । यसको खास कारण के हो ?
प्राविधिक शिक्षालयहरुमा मात्रै होइन अन्य शिक्षालयहरुमा पनि छोरीहरुको संख्या बढिरहेको नै छ । किनकि हाम्रो देशको कुल जनसंख्यामा आधा छोरीहरु नै छन् । विगतमा छोरीहरुलाई पढाउने चलन थिएन । छोरा मान्छेहरु मात्रै अध्ययन गर्न विद्यालय जाने गर्दथे । तर, अहिले हाम्रो समाजको चेतनास्तर निकै माथि उठेको छ । छोरीलाई पनि छोरासरह अधिकार दिइएको छ । त्यही कारणले हरेक क्षेत्रमा छोरासरह छोरीहरुको पनि सहभागिता देखिएको हो ।

अहिले शिक्षालयमा भर्ना खुलेको छ । भर्ना प्रक्रिया के कस्तो छ ?
अहिले हाम्रो शिक्षालयमा डिप्लोमा तहमा भर्ना खुलेको छ । डिप्लोमा तहमा अध्ययनका लागि सर्वप्रथमतः एसईई, एसएलसी वा विदेशमा अध्ययन गरेको रहेछ भने सो सरहको इक्वुभ्यालेन्ट गरेको हुनुपर्छ । हामीसँग अहिले ८ वटा कार्यक्रमहरू रहेका छन् । ती विषयहरुमा फरकफरक ग्रेड र जिपिए चाहिन्छ । यी विषय अध्ययनका लागि अंग्रेजी, विज्ञान र गणित गरेर तीनवटा विषय अनिवार्य पढेको हुनुपर्छ । विषयअनुसार ग्रेड र जिपिए फरक हुन्छ । हामीले बेवसाइटमा भर्ना सूचना निकालेका छौं । विद्यार्थीहरूले आफूलाई मन पर्ने विषयमा आफ्नो ग्रेड र जिपिए पुगेअनुसार अप्लाई गर्न सक्नुहुने छ । सिटिइभिटीमा कोटा सिस्टमअनुसार भर्ना गरिन्छ । खुल्ला प्रतिस्पर्धा कोटा र लक्षित वर्ग पूर्ण शुल्कीय कोटा रहेको छ । लक्षित वर्ग कोटामा भर्ना हुनका लागि कुनै लक्षित वर्ग महिला, दलित, जनजाति, आदिवासी, शहीद परिवार, बेपत्ता पारिएका परिवार, जनआन्दोलन र मधेश आन्दोलनका घाइते, अपांगहरु, पूर्व कमैया, पूर्व हलैया वा विपन्न हुनुपर्छ । त्यसका लागि सम्बन्धित निकायले प्रमाणित गरेको कागज पेश गर्नुपर्छ ।

लक्षित वर्ग घोराही उपमहानगर भन्ने कोटा पनि रहेको छ । त्यसका लागि घोराही उपमहानगरपालिकाभित्र बसोबास गर्ने र लक्षित वर्गको कुनै क्याटोगरीमा पर्नेले त्यसबाट फाराम भर्न सक्नुहुने छ । त्यसैगरी सीटीइभीटीका कर्मचारी परिवार र सन्तानका लागि एउटा कोटा रहेको छ ।

विद्यार्थी भाइबहिनीहरुले कुन कोटाबाट आफूलाई सहज मान्नुहुन्छ र आवश्यक कागजपत्र पेश गर्न सक्नुहुन्छ । त्यसमा अप्लाइ गर्न सक्नुहुने छ । शिक्षालयको नजिकै हुनुभएका विद्यार्थी भाइबहिनीहरुले सुरक्षा मापदण्ड अपनाएर शिक्षालयमा पुगेर फारम भर्न सक्नुहुने छ । त्यसैगरी टाढा रहनुभएका विद्यार्थी भाइबहिनीहरुले अनलाइनमार्फत पनि भर्ना गर्न सक्नुहुने छ ।

अन्त्यमा केही भन्नु थियो कि ?
शिक्षालयको भर्ना अभियान चलिरहेको बेला हामीलाई आफ्नो कुरा आम विद्यार्थी र अभिभावकहरुसमक्ष आफ्ना कुराहरु राख्न दिएकोमा तपाइँ र तपाईंको मिडियालाई धन्यवाद । अनि आम अभिभावक र विद्यार्थी भाइबहिनीहरु हाम्रो शिक्षालयमा पढाई हुने विषय अन्यत्र गएर पढ्नुभयो भने निकै महँगो शुल्क लाग्ने गर्छ । त्यसैले सर्वप्रथम त हाम्रो शिक्षालयमा आउनुहोस् । सबै कुरा बुझेर मात्र आवेदन फाराम भर्नुहोस् । तपाईहरुलाई नै सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिन हामी यहाँ बसेका छौं । अनि तपाई जस्तै तमाम मिडिया र मिडियाकर्मीज्यूहरुलाई यो विषयमा प्रचार गरिदिनुहुन अनुरोध छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार