पहिरो बगायो फुलिवन नमूना बस्तीका दुई घर

  जुनिसकुमार बिष्ट

 285 पटक हेरिएको

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका १ सेरमको फुलिवन नमुना बस्तीमा पहिरोले २ घर बगाएको छ । दुईवटा घरमा आंशिक क्षति पुराएको इलाका प्रहरी कार्यालय पोवाङका इन्चार्ज सूर्यलाल गुरुङले जानकारी दिनु भएको छ । उहाँका अनुसार ५ घर उच्च जोखिममा रहेका छन् ।

गएरातिको पहिरोले मानवीय क्षति भने भएको छैन । स्थानीय रणबहादुर घर्तीमगर र तेकमला घर्तीको घर पहिरोले बगाएको छ । गजमा घर्ती र मनपुरा घर्तीको घरमा आंशिक क्षति भएको छ । त्यस्तै दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती, विजयी घर्ती र दलबहादुर घर्तीको घर जोखिममा रहेको इन्चार्ज गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले आज पहिरो प्रभावित परिवारलाई गैरखाद्य सामग्रीहरु वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनु भयो । उहाँले पीडितहरुको क्षतिपूर्तिको लागि तत्काल प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र गाउँपालिका विपद व्यवस्थापन समितिमा पहल गर्ने बताउनु भयो ।

पहिरोबाट विस्थापित ४ घरलाई गैरखाद्य सामाग्री हस्तान्तरणको क्रममा वडा नम्बर १ सेरमका अध्यक्ष महावीर रानाले पूर्ण क्षति भएको घरका सामग्री लगायत जोखिममा रहेका घरका सामग्री र जोखिम भएको घरमा मानिसहरु नबस्न अनुरोध गरिसकिएको बताउनुभयो । उहाँले विस्थापित परिवारलाई बस्नको व्यवस्था मिलाउने काम भइरहेको बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷२०७७ मा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा फुलिबन बस्तीका ४० घरपरिवारलाई स्थानान्तरण गरी नमूना वस्तीको रुपमा विकास गर्दैगर्दा नमूना बस्ती नै पहिरोले बगाएपछि गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन पनि निकै दुखित भएको बताउनु भयो । उहाँले पहिरो पीडितहरुको राहतको लागि तत्कालै मुचुल्का बनाई अगाडि बढाउने र गाउँपालिकाले आवश्यक बसोबासको प्रवन्ध मिलाउनुको साथै पुनर्बासको लागि प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

चार घरपरिवारलाई वडा नम्बर १ सेरमका अध्यक्ष महावीर रानामगरको पहलमा स्थानीयहरु सुरक्षित घरहरुमा बस्नको लागि व्यवस्था मिलाइएको छ । सुरक्षित मानिएको स्थान रोजेर घर बनाइयो तर अहिले यहाँ पनि पहिरोले घर बगाएपछि आफू निकै दुःखित भएको पहिरो पीडित रणबहादुर घर्तीमगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार