काबुल विमानस्थल: उड्न खोजेको विमानबाट खसेर पाँच जनाको मृत्यु

काठमाडौं । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका छन्। त्यहाँ कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्। अफगानहरू विमानमा टाँसिएका र त्यो धावनमार्गबाट उडेपछि खसेको देखिएको छ।

यात्रुहरूका अनुसार भिसाबिनै मानिसहरूलाई यात्रा गर्न दिइएको हल्लाले गर्दा ठूलो भिडभाड भएको त्यहाँ रहेका बीबीसी संवाददाता बताउँछन्। ‘सामाजिक सञ्जालमा देखा परेका भिडिओमा मानिसहरू ठेलमठेल गरेर विमान चढ्न खोजेको देखिन्छ। अफगान सञ्चारमाध्यमहरूले पाएका एउटा भिडिओमा उडेको विमानमा टाँसिएका तीन जना खसेको देखिन्छ’ संवाददाता सिकन्दर केर्मानीले भने।

सोमवार दिल्ली आइपुगेकी एक महिलाले विश्वले अफगानिस्तानलाई यसरी अलपत्र छाडेकोमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिइन्। ‘हाम्रा साथीहरू मारिनेछन्। उनीहरूले मार्नेछन्। हाम्रा महिलाहरूले अब अधिकार पाउनेछैनन,’ काबुलबाट आइपुगेकी उनले रुँदै भनिन्। प्रत्यक्षदर्शीहरूका अनुसार अमेरिकी फौजले विमानतर्फ देखा परेका अनियन्त्रित भीडलाई तितरबितर पार्न हवाई फायर गरेको थियो।

तीन जनाको शव फेला परे पनि उनीहरूको मृत्यु गोली लागेर वा भाग दौडमा के भएर भएको हो भन्ने स्पष्ट छैन। अमेरिकी राष्ट्रपति जो बाइडनका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले अफगानिस्तानको अवस्था आफूहरूले सोचेभन्दा तीव्र गतिमा बिग्रिएको स्विकारेका छन्।

उनले अमेरिकाले सोमवारसम्ममा काबुल विमानस्थललाई सुरक्षित पार्ने बताएका छन्। तालिबान लडाकुहरू काबुल प्रवेश गरेको दोस्रो दिन आज अफगानिस्तानको राजधानीमा एउटा असहज स्थिरता देखा परेको छ।

दिनभरजसो अधिकांश व्यवसाय र कार्यालयहरू त्यहाँ बन्द रहे। सशस्त्र लडाकुहरूले पीकअप भ्यानहरूमा तालिबानको झन्डा फहराउँदै सडकमा गस्ती गरेका थिए। तर अझै काबुल सहर वा अफगानिस्तानको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट छैन।

तालिबानले भने सरकारी कर्मचारीहरूलाई काममा फर्कन भनेको छ। केही खबरहरूका अनुसार लडाकुहरूले केही पत्रकारका घरमा खानतलासी गरेका थिए। तर यसअघि बीबीसीसँग बोल्दै तालिबानका प्रवक्ताले तटस्थ रहेको अवस्थासम्म पत्रकारहरूले काम गर्न पाउने बताएका थिए।

यता, चीनले आफू तालिबानसँग मैत्री सम्बन्ध विकास गर्न चाहेको जनाएको छ। रुसले काबुलमा रहेका आफ्ना राजदूतले मङ्गलवार तालिबानसँग भेट्ने र उसका व्यवहारका आधारमा नयाँ सरकारलाई समर्थन जनाउने(नजनाउने निर्णय गर्ने जनाएको छ।

इरानका नयाँ उग्रपुरातनवादी राष्ट्रपति इब्राहिम रइसीले पछिल्लो घटनाक्रमलाई उनकै शब्दमा अमेरिकाको पराजय बताउँदै त्यसले अफगानिस्तानमा दीर्घकालीन शान्तिको बाटो खोल्नुपर्ने बताएका छन्। ब्रिटेनका रक्षामन्त्री बेन वालेसले तालिबानको नियन्त्रणलाई अन्तर्राष्ट्रिय समूदायको असफलता बताएका छन्।

पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक जना राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अफगानिस्तानबाट हात झिक्नुले अमेरिकीहरू स्वार्थीजस्तो देखापरेको बताएका छन्। अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको बताइएको छ।

अफगानिस्तानका मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए। उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए। अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने प्रयास भइरहेको छ।

अहिले काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने ठूलो सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन्। साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर मानिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।

सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हावामा गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्। दौडिएर विमान चढ्न खोज्ने मानिसहरूको “अनियन्त्रित” भिडलाई रोक्न सैनिकहरूले गोली चलाउनुपरेको एक अधिकारीले रोएटर्सलाई बताएका छन्।
-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार