शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने सहमति भयो, नआत्तिनुहोसः अफगान गृहमन्त्री

एजेन्सी । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालिन सरकारका लागि छिट्टै शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिवान विद्रोहीले आक्रमणलाई तीब्र पार्दै आईतबार दिउसो राजधानी काबुल छिरेपछि गृहमन्त्रीको सो भनाई आएको हो । ‘संक्रमणकालिन सरकार गठन गर्न शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्ने विषयमा सहमति भएको छ,’ गृहमन्त्री मिर्जाक्वालले भने ।

यसअघि सत्ता हस्तान्तरणबारे सरकार र तालिवानबीच वार्ता भएको थियो । काबुलको सुरक्षाबारे मानिसहरुले चिन्ता लिनु नपर्ने उनले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । ‘कसैको जीवन, सम्पत्ती र आत्मसम्मानमा हानी हुने छैन् । काबुलका नागरिकको जीवन जोखिममा हुने छैन,’ गृहमन्त्रीले भने ।

सरकारबिरुद्धको युद्धलाई तीब्र पारेका तालिवान विद्रोहीे आइताबार राजधानी काबुल छिरेका थिए । त्यस लगत्तै राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएका थिए । घानीले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र नेटोका शीर्ष अधिकारीसँग वार्ता गरेका थिए । घानीमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।
चारैतिरबाट काबुल छिरेका तालिवानले हाल राजधानीलाई घेराबन्दी गरेका छन् । राजधानी बाहिर जान चाहने मानिसहरुलाई भने सुरक्षित रुपमा निस्कन दिने उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार