सत्ता शान्तिपूर्ण रुपमा हस्तान्तरणको लागि तालिबान र सरकारबीच वार्ता जारी

काठमाडौं । विद्रोही समुह तालिबान लडाकुहरु केन्द्रीय राजधानी घुस्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनीले आपतकालीन बैठक बोलाएका छन्। राष्ट्रपति गनी, अमेरिकाका विशेष दूत जलमे खलिलजाद र नेटोका अधिकारीहरु बिच वार्ता भइरहेको बीबीसीहिन्दीले जनाएको छ।

तालिबानले काबुल बाहेक देशका सबै शहर र प्रान्तीय राजधानी कब्जा गरिसकेको अवस्थामा यो आपतकालीन बैठक बोलाइएको हो। शनिबार मात्र राष्ट्रपतिले देशवासीको नाममा सम्बोधन गर्दै सेनाहरु संगठित गर्ने र हिंसा रोक्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

यसको मतलब उनी तालिबानसँग भिड्ने पक्षमा थिए। तर अब भने अवस्था फेरिसकेको छ। तालिबानले काबुलको ढोकामै पुगेर उसले सरकारलाई आत्मसमर्पण गर्न चेतावनी दिएको खबरहरु आएका छन्।

तालिबानसँगको सहमतिमै नेटोका सेनाहरु स्वदेश फर्केका हुन् जसका कारण नेटोले तालिबानले पुरै देश कब्जा गरिसकसेको अवस्थामा सहयोग गर्ने सम्भावना कम छ।

यसबीचमा तालिबानले सरकार र आफूहरुबीच सत्ता शान्तिपूर्ण ढंगले हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ। त्यसकारण यतिबेला तालिबानले आफ्ना लडाकुहरुलाई काबुलमा आक्रमण नगर्न र संयम भएर बस्न भनेको छ। यतिबेला लडाकुहरुले काबुल घेरेका छन् र उनीहरु अन्तिम निर्णयको पर्खाइमा छन्।

यसअघि राष्ट्रपति असरफ गनीले तालिबानलाई राजनीतिक पार्टीको रुपमा सरकारमा आउन आग्रह गरेका थिए। तर तालिबानले गनीलाई विदेशीको कठपूतली सरकार भएको आरोप लगाउँछ। तालिबानले सत्तामै आउन देशभर आक्रमण गरेकाले गनीसँग मिल्ने भन्दा तालिबानले पुरै देश चलाउने लक्ष्य राखेको छ।

अहिले पनि ५ हजार अमेरिकी फौज काबुलमा भएको बताइन्छ। तर उनीहरु आफ्ना नागरिक तथा कूटनीतिज्ञ मात्र निकाल्न त्यहाँ पुगेका हुन्। यदी नेटोले फेरि तालिबानविरुद्ध आक्रमण गरेमा यो शान्ति सम्झौताको उल्लंघन हुने तालिबानले यसअघि नै बताउँदै आएको छ।

तालिबानले आफू सत्तामा आउने दृढता देखाइसकेको छ। तालिबानले राष्ट्रपति गनीलाई राजीनामा दिन बारम्बार चेतावनी दिइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार