थप २,६२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, २० को मृत्यु

काठमाडौं । नेपालमा थप २,६२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख पाँच हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,२५९ पुगेको छ।

गत २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका सबभन्दा बढी सङ्ख्यामा सङ्क्रमित बनेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,५७३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,९०६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको १९.३३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,३२० जना सङ्क्रमणमुक्त भएका छन्।

सङ्क्रमितमध्ये ३६,००० भन्दा बढी घरमा तथा ३,४०० भन्दा बढी संस्थागत आइसोलेशनमा छन्।

अहिले ७६० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप?
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३३ लाख नाघेको मन्त्रालयले जनाएको छ।

अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार