तालिबानले काबुल पनि कब्जा गर्ने भएपछि डरायो अमेरिका

काठमाडौं । शुक्रबार सम्ममा अफगानिस्तानका दुई प्रमुख सहर दक्षिणको कान्दहार र पश्चिमको हेरात पनि कब्जा गरिसको तालिबानले ढिलोचाँडो काबुल पनि कब्जा गर्ने संकेत देखिएको भन्दै अमेरिकाले आफ्ना कर्मचारीलाई संवेदनशील सबै कागजात र सामग्री नष्ट गर्न निर्देशन दिएको छ ।

बेलायती समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी राजदूतावासले संवेदनशील कागजात र विद्युतीय सामाग्रीहरू जलाउने प्रयोजनका लागि राजदूतावासले उपकरणहरूसमेत उपलब्ध गराइसकेको छ ।

सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिबान सरकारविरूद्ध अमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो। सो कारबाहीले तालिबानलाई विस्थापित गरेको थियो।

तर, अब अमेरिकी सेना अफगानिस्तानबाट फर्किने भएपछि तालिबान गाँउ, शहर हुँदै राजधानी काबुल कब्जा गर्ने अवस्थामा पुगेका छन्। अमेरिकाले अगष्ट महिनाको अन्तिम सम्ममा सबै अमेरिकी सेना फर्काउने तालिका बनाएको छ।

२० वर्षसम्म अफगानिस्तानमा बस्दा अमेरिकाले ८६ अर्ब डलर लागानी गरेपनि उक्त लगानी बालुवामा पानी हालेसरह देखिएको छ।

यतिबेला अमेरिका कुनै पनि हालतमा संवेदनशील सूचना तालिबानको हात नलागोस् भनेर सचेत देखिएको छ। जसकारण राजदूतावासले त्यस्ता सूचना भएका कागजात र सूचना आदन–प्रदान गर्न प्रयोग भएका विद्युतीय उपकरण नष्ट गर्ने प्रक्रिया सुरू गरेको छ।

अमेरीकाले आफ्ना नागरिकलाई अमेरिका फिर्ता लैजान तीन हजार सैनिक काबुलमा उतारेको छ भने आफूहरुलाई सहयोग गर्ने अफगानी नागरिकलाई अरु कुनै मुलुक वा सुरक्षित अमेरिकी सैन्य अड्डाहरूमा लैजाने तयारी गरेको छ। किनकी बिनाभिसा अमेरिका लैजान तल्काल सम्भव छैन ।

अमेरिकाले विशेष दूतमार्फत तालिबानसँग काबुलस्थित आफ्नो राजदूतावासमा आक्रमण नगर्न ‘नेगोसिएट’ गरिरहेको छ। साथै काबुलमा तालिबानको शासन स्थापित भएको खण्डमा पनि आफ्नो दूतावासलाई कायम रहन दिन अमेरिकाले आग्रह गरेको छ।

साथसाथै तालिबानले कदाचित आफ्नो राजदुताबासमा आक्रमण गरेको खण्डमा त्यसको समान कसरी गर्ने र आफ्ना नागरिकलाई कसरी सुरक्षित रुपमा अफगानिस्तानबाट बाहिर निकाल्ने भन्नेबारे पनि थप सैन्य तयारी गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरूले जनाएका छन्।

कान्दहार र हेरात सहर नियन्त्रणमा लिएसँगै तालिबानका निम्ति यो घटना गत मे महिनायताकै सबभन्दा ठूलो उपलब्धि बनेको छ। अमेरिकासहित उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्रहरूका सैनिक फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको हो। उनीहरू हरेक दिन नयाँ ठाउँमा कब्जा जमाइरहेका छन्।

यो उपलब्धिलाई तालिबानले अफगानी जनताले आफूहरूलाई स्वीकारेको संकेतका रूपमा लिएको समूहका प्रवक्ता क्वारी युसी अह्मादीले अल्जजिरा टिभीलाई बताएका छन्।

हेरातका प्रदेश काउन्सिल सदस्य गुलाम हबिबका अनुसार हेरात अहिले भूत सहरजस्तो बनेको छ। करिब छ लाख मान्छे इरानको सीमामा गएर बसेका छन्। हबिबको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ–‘धेरै परिवारले सहर छाडेका छन्, अरू धेरै लुकेर बसेका छन्। यो भूताहा सहरजस्तो भएको छ।’

कन्दहारमा पनि गत राति भीषण द्वन्द्व भएको त्यहाँका सरकारी अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पछि तालिबानीहरूले सहर कब्जा गर्न सफल भए।

अफगानिस्तानका प्रमुख सहरमध्ये उत्तरमा मजर–इ–शरिफ र पूर्वमा पाकिस्तानको सीमा नजिकै रहेको जलालाबाद र काबुल भने अझै सरकारको नियन्त्रणमा छ। तर अमेरिकी रक्षा अधिकारीहरूले तालिबानले आगामी ३० दिनभित्र काबुललाई एक्ल्याउने र सम्भवतः ९० दिनभित्र नियन्त्रणमा लिइसक्ने देखिएको बताएका छन्।

तालिबानले आफ्नो प्रभाव बढाएपछि अमेरिका र बेलायतले त्यहाँका आफ्ना दूतावास खाली गर्न लागिपरेका छन्। राजधानी काबुलस्थित दूतावासमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा लैजान उनीहरूले धमाधम तयारी गरिरहेका छन्। अमेरिकी दूतावासमा १४ सय कर्मचारी हुनसक्ने अनुमान छ। उनीहरूलाई सुरक्षित स्थानमा लग्न पेन्टागनले ४८ घन्टाभित्र थप तीन हजार सेना पठाउन लागेको बताइएको छ।

बेलायतले पनि आफ्ना नागरिकको मद्दतका लागि ६०० सेना पठाउने तयारी गरेको छ। सैनिक टोली यो साताको अन्तिममा पुग्ने अनुमान गरिएको छ। यसमा चिकित्सक र विशेषज्ञहरू समेत रहनेछन्।

अमेरिका र बेलायतसँगै जर्मनीले पनि आफ्ना नागरिकलाई आफगानिस्तान तुरुन्तै छाड्न आग्रह गरेको छ।

गत बिहीबार मात्रै तालिबानले घज्नी सहर पनि नियन्त्रणमा लिएको थियो। यो सहर कन्दहारदेखि काबुल जाने सडकमा पर्छ। अहिले अफगानिस्तानभर फोन सम्पर्क बन्द छ। यसले कुन–कुन सहर तालिबानको आक्रमणमा रहेको भन्ने जानकारी आउन सकेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार