पूर्वमुख्यमन्त्री पोख्रेलले देखाए आफूले गरेका साढे ३ वर्षका यी ४५ काम

  पहिलोपेज समाचारदाता

 231 पटक हेरिएको

दाङ । लुम्बिनी प्रदेशका भूतपूर्व मुख्यमन्त्री शंकर पोख्रेलले आफू ३ वर्ष ५ महिना मुख्यमन्त्री पदमा रहँदा गरेका ४५ कामहरुको लिष्ट सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो फेसबुक वालमा ती कामहरुको लिष्ट दिँदै नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी सोनामलाई बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

“तीन वर्ष पाँच महिना २५ दिन लुम्विनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर आजवाट विधिवतरुपमा विदा भएँ । यस अवधिमा प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद । माननीय कुलप्रसाद केसीको नेतृत्वको नयाँ सरकारलाई कार्य सफलताको शुभकामना”, पूर्वमुख्यमन्त्री पोख्रेलले लेख्नुभएको छ । उहाँले “मेरो मुख्यमन्त्रीत्वको कालमा व्यक्तिगत र संस्थागतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु अघि बढे” भन्दै मुख्य ४५ कामलाई शूत्रवद्ध गर्नुभएको छ ।

१. प्रदेश स्थापना हुँदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थितिपत्रको प्रकाशन ।
२. कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण ।
३. प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पञ्चवर्षीय योजना निर्माण ।
४. कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तीव्रता ।
५. आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालीन खर्च संरचना तयार गरी कार्यान्वयनको थालनी ।
६. प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा तोक्ने ऐतिहासिक निर्णय ।
७. कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचान गरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण ।
८. सामाजिक र मानवीय विकासका लागि शिक्षा, स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी ।
९. दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२ वटा जिल्लास्तरीय अस्पतालहरुको क्षमता विस्तार गरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नति ।
१०. लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी ।
११. ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र सञ्चालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका ।
१२. विश्वविद्यालय स्थापना सम्बन्धी छाता ऐनको निर्माण र बाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय ।
१३. स्मार्ट कृषि गाउँ कार्यक्रम, हरित स्वयम्सेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम ।
१४. प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना ।
१५. आञ्चलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरण गरी हामी लुम्बिनीवासीको भावना निर्माण ।
१६. सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता ।
१७. रणनीतिक सडक सञ्जालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण ।
१८. प्रदेशमा एक करोडभन्दा कम लागतका सवारीसाधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।
१९. सुशासन ऐनको निर्माण गरी साधारण खर्च कटौती र विकास खर्चमा पारदर्शिता निर्माण ।
२०. प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन ।
२१. एकवर्षमा ४० हजार घरमा धारा जडान गर्न सफल ।
२२. सिचाई, खानेपानी, तटवन्ध र सडकपुलमा शतप्रतिशतभन्दा बढी बजेट खर्च गर्ने क्षमताको विकास ।
२३. तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च शतप्रतिशत गर्न सफल ।
२४. केन्द्र र स्थानीय तहसँगको राम्रो समन्वय र सहकार्य ।
२५. औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल ।
२६. आगामी वर्ष झण्डै ८० वटा पुल निर्माण हुने अवस्थाको निर्माण ।
२७. केन्द्रबाट हस्तान्तरित सशर्तका कार्यक्रममा शतप्रतिशतभन्दा बढी बजेट परिचालन गर्न सफल ।
२८. केन्द्रका ठूला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजीकरण ।
२९. लुम्बिनी प्रदेशको दीर्घकालीन योजनाको आधार तयार ।
३०. ठूला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।
३१. तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार ।
३२. प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रक्रिया आरम्भ ।
३३. दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण ।
३४. प्रदेश लोकसेवा आयोग गठन भई कार्य आरम्भ भएको ।
३५. सूचना प्रविधि प्रतिष्ठान गठन भई डिजिटल प्रदेश निर्माणको थालनी
३६. प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमबाट प्रदेश र स्थानीय तहमा जनशक्ति विकासको थालनी ।
३७. पूर्वाधार विकास प्राधिकरण गठन भई ठूला विकासका आयोजना अघि वढाइएको ।
३८. पालिकाहरुमा खेलपूर्वाधारको विकास र बहुद्देश्यीय भवनको निर्माण ।
३९. विज्ञान शिक्षामा छात्राको सहभागितामा उल्लेख्य बृद्धि ।
४०. मुस्लिम, दलित तथा कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था ।
४१. प्रदेशमा अवस्थित विश्वविद्यालयसँग अनुसन्धानमूलक कार्यमा साझेदारीको थालनी ।
४२. मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका माध्यमबाट गरिवी निवारणमा महत्वपूर्ण योगदान ।
४३. राज्यका तीनवटै सुरक्षा निकायसँग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना ।
४४. जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि ।
४५. शहरी क्षेत्रमा सडकपेटी निर्माणमा तीव्रता र पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा पूर्वाधारको विकास ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार