लुम्बिनीमा काँग्रेस र माओवादीले गरे आलोपालोको मुख्यमन्त्री चलाउने सहमति

काठमाडौं । काँग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आधा÷आधा कार्यकालमा सहमति गरेका छन् ।

प्रदेश सभाको बाँकी १६ महिने कार्यकालमध्ये दुई दलले ८/८ महिना मुख्यमन्त्री चलाउने गरी सहमति भएको हो । सहमतिअनुसार पहिलो ८ महिना माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र पछिल्लो ८ महिना काँग्रेसका वीरेन्द्र कनौडियाले मुख्यमन्त्री पद सम्हाल्ने छन् ।

पावर सेयरिङबारे लिखित सहमति भने नभएको बताइएकाे छ । काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि मंगलबारदेखि प्रदेशसभामा छलफल सुरु हुँदैछ ।

एक तिहाई सांसदले विशेष अधिवेशनको माग गर्दै समावेदन गरे प्रदेशसभा अधिवेशन बोलाउनुपर्ने संवैधानिक प्रावधानअन्तर्गत प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

यसैबीच प्रदेशसभा अधिवेशनको दुई दिनअघि नै विपक्षी गठबन्धनका सांसदहरुलाई कपिलवस्तुको बाणगंगास्थित राजापानी थारु भिलेजमा राखिएको छ । माओवादी केन्द्रकी नेतृ एवं प्रदेशसभा सदस्य दामा शर्माका अनुसार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित गर्ने र आगामी सरकार गठनलगायत विषयमा छलफल गर्न मंगलबार बैठक राखिएको छ ।

लुम्बिनी प्रदेश सभा ८० सदस्यीय छ । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउन ४० सांसदको समर्थन चाहिन्छ । तर, हाल उनको पक्षमा एमालेका ३८ सांसद छन् ।

प्रदेश सभामा काँग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका एक गरी विपक्षी गठबन्धनमा ४१ सांसद छन् । यस्तोमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत नपाउने करिब निश्चितजस्तै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार