एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।

एमालेको यसअघि कै स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पनि पेस भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ ।

पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था हट्याे

संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

कार्यालय सचिव शेरबहादुर तामाङ्ले अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिए।

यसैगरी केन्द्रीय कमिटी सदस्यको सङ्ख्या पनि बढाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको उनले जानकारी दिए । पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने पारित विधानमा उल्लेख छ ।

एमालेको केन्द्रीय कमिटी बैठक अहिले ३ बजे सोही प्रतिष्ठानमा राखिएको छ । स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइनेसमेत उल्लेख गरिएको कार्यालय सचिव तामाङ्ले जानकारी दिए । उनले अहिले बस्ने केन्द्रीय कमिटीले विधान पारित गरेपछि लागू गरिने कार्यालय सचिव शेरबहादुर तामाङ्ले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार