जन्मँदा २१२ ग्राम तौल भएकी शिशु १३ महिनापछि घर फर्किइन्

काठमाडौं । आमालाई स्वास्थ्य समस्या भएर निकै सानो तौलमा जन्मिएकी शिशु १३ महिना अस्पताल बसेर घर फर्केकी छन् । उनी एक स्वास्थ्य बच्चा जस्तै भएर घर फर्किएकी हुन् । उनी जन्मिँदा विश्वकै सानो भनिएको थियो । १३ महिना सिंगापुरको एक अस्पतालमा उपचारपछि अभिभावकले उनलाई घर लिएर गएका छन् ।

क्वेक यू सुवान जन्मिदा मात्र २१२ ग्राम, करिब एउटा स्याउको तौल बराबर, थिइन् । उनकी उचाइ मात्र २४ सेन्टिमिटर थियो । सामान्यतः ४० हप्तामा जन्मिनुपर्नेमा उनको जन्म मात्र २५ हप्तामा भएको थियो । टाइनिएस्ट बेबी रजिस्ट्रीअनुसार यसअघि सन् २०१८ मा अमेरिकामा २४५ ग्राम तौल भएकी शिशुको जन्म भएको थियो ।

आमालाई प्री–इक्लामप्सिया देखिएपछि यू सुवानलाई आपत्कालीन सी–सेक्सनबाट चार महिनाअघि नै जन्म दिइएको थियो । प्री–इक्लामप्सियामा उच्च रक्तचाप हुने गर्दछ जसले मानिसको महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुग्न सक्छ । यसले आमा र बच्चा दुवैलाई खतरा हुने देखिएपछि समयअगावै शिशुलाई जन्म दिने निर्णय गरिएको थियो ।

अहिले भने यू सुवान निकै स्वस्थ छिन् । उनको तौल पनि अहिले ६।३ किलो पुगेको छ । उनको उपचारका लागि विश्वभरबाट २ लाख ७० हजार डलर सहयोग प्राप्त भएको थियो ।
-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार