ओलिम्पिक खेलाडी प्राचीन समयमा झैँ नाङ्गै प्रतिस्पर्धामा गए भने के होला ?

काठमाडौं । ७२० बीसीमा प्राचीन ग्रीसका महान् ओलिम्पिक खेलाडी मेगाराका अर्सिपस १८५ मिटर दौडमा प्रतिस्पर्धा गर्दै थिए, उनको लँगौटी फुस्कियो। आफ्नो लज्जा छोप्नुको सट्टा उनी अझै तेज दौडे र खेलमा विजयी बने।

“अर्सिपस वीर र विजयी भएको रूपमा लिइयो उदाहरणीय बनाइयो,” युनिभर्सिटी अफ आयोआकी सहप्राध्यापक सारा बोन्ड भन्छिन्। “ग्रीकहरू नाङ्गो हुनुलाई ग्रीक शैली र शिष्टाचारको रूपमा लिइयो। ”

सन् १८९६ मा आधुनिक ओलिम्पिक्स पुन:जागृत हुँदासम्म सांस्कृतिक लहर लामो समययता परिवर्तन भइसकेको थियो। आयोजकहरूले नाङ्गै प्रतिस्पर्धा गरिने ग्रीक परम्परा ल्याउने विषय सोच्दा पनि सोचेनन्।

अहिलेको आधुनिक खेल प्रतिस्पर्धामा पहिरनले पनि प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्छ -जुत्तामा सन्तुलन मिलाउन ‘ग्रीप’ हुन्छ र दौडिने जुत्तामा स्प्रीङ पनि हुन्छ। पौडिँदा लगाउने लुगाले पौडीबाजलाई पानीमा सजिलो बनाउँछ।

टोक्योको ओलिम्पिक्स भने कोभिड-१९ को प्रतिबन्धका कारण धेरै तरिकाले अस्वाभाविक देखिएको छ।

तर ग्रीसको त्यो पुरानो ओलिम्पिक परम्परा पुनर्स्थापित गर्ने अस्वाभाविक कदम अझै चाले के हुन्छ?

यसबारे कसैले पनि गम्भीर रूपमा नसोचिरहेका बेला खेलाडीको प्रदर्शन, सांस्कृतिक मान्यता, लिङ्गभेद लगायतबारे रोचक प्रश्नहरू चाहिँ उठेका छन्।

शिष्टता

सुरुमा खेल्नेहरूलाई नाङ्गै प्रतिस्पर्धामा उत्रिन व्यवस्थापकीय कारणले असजिलो लाग्न सक्छ।

आधुनिक प्रतिस्पर्धीहरू भने धेरैजसो आफ्नो खेल करिब करिब नाङ्गो प्रस्तुत गर्छन् – उनीहरूले कसिलो छाला रङ्गको लुगा लगाएका हुन्छन्, उदाहरणका लागि – खास किसिमका लुगाहरू महिला र पुरुषका गोप्य अङ्गका लागि बनाइएका हुन्छन्।

“सहजका लागि कम्तीमा ती लुगाहरूले अशिष्टपन नदेखाउन मद्दत गर्छ,” नर्थ क्यारोलाइना विश्वविद्यालयस्थित टेक्स्टाइल प्रोटेक्सन एन्ड कम्फर्ट सेन्टरका विशेष परियोजना निर्देशक शन डेटनले भने।

अर्को तर्फ, खेलाडीको प्रदर्शनका लागि लुगाले कति योगदान गर्छ भन्ने त्यति स्पष्ट छैन। मेल्बर्नस्थित आरएमआइटी विश्वविद्यालयकी प्राध्यापक ओल्गा ट्रोइनिकोभका अनुसार कस्तो कपडाले बनेको छ, खेलाडीको शरीरलाई कति मिलेको छ भन्नेमा भर पर्छ।

सामान्यतया, खेलाडीले लगाउने लुगाले केही सघाउ भने पुग्ने ट्रोइनिकोभ बताउँछिन्।

पहिला त यसले शरीरलाई सुव्यवस्थित बनाउँछ र त्यसले मांसपेशीलाई बल दिन्छ र आफ्नो काम गर्न सजिलो बनाउँछ।

तौल उचाल्ने खेलमा लगाइने पेटी र कसिलो लुगाले पनि मद्दत गर्न सक्छ। उदाहरणका लागि त्यसले प्रतिस्पर्धीको मांसपेशीलाई आफ्नो सबै बल हातमा पुर्‍याउन मद्दत गर्छ। खेलाडीले लगाउने यस्ता लुगा/पेटीहरू भएनन् भने त्यसले प्रदर्शन त्यति राम्रो नहुन सक्छ।

कपडाले पानी वा हावामा खेल्दा पर्ने बाधा पनि कम गर्न सक्छ। उदाहरणका लागि साइकल प्रतिस्पर्धीले आफ्नो खुट्टाका रौँ खौरिनुबाहेक कसिलो लुगा लगाउँदा पसिना वा हावाले पार्ने असर कम गर्न सक्छ।

प्राविधिक लुगा र नमुना

लुगा लगाउँदा फाइदा पुग्छ भन्ने सबैभन्दा सहमत गराउने उदाहरण भनेको पौडी खेल्दा लगाउने लुगा हो। ट्रोइनिकोभ भन्छिन्, यो खेल झण्डैझण्डै मानव शरीरको क्षमता मात्रै भन्दा खेलाडीले लगाउने लुगाको नमुनाको प्रतिस्पर्धा भयो।”

यो विषय सन् २००८ मा समाचारको शीर्षक बन्यो। बेइजिङमा भएको ओलिम्पिक पौडी प्रतिस्पर्धामा खेलाडीले २५ वटा विश्व कीर्तिमान तोडे। ती मध्ये २३ जनाले विशेष तरिकाले बनाइएको एलजेडआर रेसर भनिने पूरै शरीर ढाक्ने लुगा लगाएका थिए।

एलजेडआर रेसरको नमुना बनाउन मद्दत गर्ने नासाका वैज्ञानिकका अनुसार, त्यस्तो लुगाले छालासँग हुने घर्षण २४ प्रतिशतले कम गराउँछ र खेलाडीको शरीरलाई खुम्च्याउँछ र लुगा यताउता कम} हुन्छ।

सन् २०१० मा पौडीको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय एफआईएनएले एलजेडआर रेसर र त्यस्तै खालका लुगाले लगाउने खेलाडीलाई अन्यायपूर्ण फाइदा पुर्‍याएको बताएको थियो।

अहिले भने एफआईएनएले खेलाडीलाई खेलमा गति बढाउन वा प्रदर्शनमा सघाउ पुर्‍याउने कुनै पनि लुगा लगाएर प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएको छ।

गर्मी महिनामा खेलिने अन्य खेलमा, लुगाको योगदान अङ्क ल्याउनमा कति रहन्छ भन्नेमा थप प्रश्न गर्न सकिन्छ, ट्रोइनिकोभ भन्छिन्। “यसले यो गर्छ र त्यो गर्छ भन्ने धेरै दाबी गरिन्छ, तर साँच्चै भन्दा, त्यस्तो धेरै केही हुन्न।”

शरीर खुम्च्याउने लुगा खासमा श्वासप्रश्वासमा मद्दत पुगोस् भनेर शरीरमा रक्त सञ्चार परिवर्तन गर्न बनाइएको हो।

यस्तो लुगा लगाउँदा अनुसन्धानले खेल प्रदर्शनमा सुधार ल्याउँछ भन्ने पक्ष र विपक्षमा ५०-५० देखाएको छ।

“केही अनुसन्धानहरू त छ तर अझै निष्कर्ष निस्किएको छैन,” ट्रोइनिकोभ भन्छिन्।

परिष्कृत जुत्ता

जुत्ताको फेरि अर्कै कथा छ। केवल प्रदर्शन राम्रो बनाउनका लागि मात्रै होइन कि सुरक्षा प्रत्याभूत गर्नका लागि पनि।

खुट्टाको पैतालाको माथिल्लो भाग, औँलामुनिको भाग र कुर्कुच्चामा थोरै अग्लाइ भएको जुत्ताले खेलाडीलाई दौडिन, उफ्रिन वा खेलामा फर्किन एकदमै सघाउँछ। जुत्ताले मांसपेशी, हड्डी, पिँडौलाको तल्लो भागलाई पनि असर कम गर्न मद्दत गर्छ।

“शरीरको सबै भार खुट्टामा पर्छ,” नर्थ क्यारोलाइना विश्वविद्यालयस्थित विल्सन कलेज अफ टेक्सटाइल्सकी औद्योगिक इन्जिनियर मापेला मक्केली भन्छिन्। “त्यसैले शरीरलाई सजिलो होस् भनेर पनि सजिलो जुत्ता लगाउन असाध्यै आवश्यक छ।”

केही खेलका लागि त सुरक्षाका कारण पनि असाध्यै विशेष खालको जुत्ता लगाउन आवश्यक छ।

ओलिम्पिक जलयात्रामा प्रतिस्पर्धा गर्दा खेलाडीहरू नचिप्लियोस् भनेर जुत्ताकै भरमा बस्नुपर्छ।

यसले सम्भावित दुर्घटनाको खतरा पनि कम गर्छ भने खेलको प्रदर्शन पनि राम्रो बनाउँछ।

मक्केली भन्छिन्, “ओलिम्पिक्समा खेलाडीहरू नाङ्गै प्रदर्शन गर्ने पुरानै अवस्थामा जाने हो भने पनि कम्तीमा उनीहरूले जुत्ता चाहिँ लगाउनुपर्छ।”

नाङ्गै खेल्ने अभ्यासमा गए केही परम्परागत देशहरूले आफ्ना प्रतिस्पर्धीलाई प्रतियोगितामै भाग लिनबाट प्रतिबन्ध लगाउन पनि सक्छन्।

“शिष्टताले ठूलो भूमिका खेल्ने संस्कृतिमा यो विकल्प काम गर्दैन,” न्यूडिटी: अ कल्चरल एनाटोमी पुस्तकका लेखक तथा युनिभर्सिटी अफ सिड्नीका मानार्थ सहप्राध्यापक रुथ बर्कानले भने।

१८ वर्षमुनिका खेलाडीलाई पनि नाङ्गै खेल्नपर्‍यो भने त्यसले गम्भीर खालका कानुनी र नैतिक प्रश्न पनि उब्जिनेछ।

प्राचीन ग्रीक ओलिम्पिक्समा १२ वर्षसम्मका पुरुष खेलाडीले भाग लिए पनि बोन्डका अनुसार खेलको धार्मिक प्रकृति अनुसार यौन गतिविधिलाई कडा प्रतिबन्ध लगाइएको थियो।

त्यो समस्या अहिले हुँदैन। “त्यतिबेला ओलिम्पिक्स खेलमा नाङ्गो हुनुको अर्थ फरक थियो,” बोन्ड भन्छिन्। “अहिले त्यो भयो भने एकदमै अश्लील र कामुक हुनेछ र बदलामा हिंस्रक हुनेछ।”

टिभी र सामाजिक सञ्जालमा नाङ्गोपन

प्राचीन ग्रीसमा, ओलिम्पिक्स सम्भ्रान्त पुरुष दर्शकले हेर्थे जो उस्तै सांस्कृतिक र धार्मिक पृष्ठभूमिका हुन्थे (केही अविवाहित महिलालाई पनि सहभागी हुन अनुमति दिइन्थ्यो)।

अर्कोतर्फ, अहिले भने, विश्वभरका लाखौँ मानिसले हेर्न सक्ने गरी खेल टेलिभिजनबाट प्रसारण गरिन्छ।

पुरातनवादी देशहरूले ओलिम्पिक प्रसारण गर्न नै स्टेसनहरूलाई प्रतिबन्ध लगाउन सक्छ। बार्कान भन्छन्, धेरै उदारवादी देशमा “मिडिया कम्पनीहरू हद पार गने गरी उत्साहित हुन सक्छन्।”

दर्शकहरूले भने मिश्रित खालको प्रतिक्रिया जनाउन सक्छन्। “केही मानिसलाई त्यही कलात्मक, नौलो लाग्नसक्छ भने अरूलाई घिनलाग्दो लाग्न सक्छ,” बार्कान भन्छन्।

सामाजिक सञ्जालहरूले भने खेलाडीहरूको प्रदर्शनलाई नै असर गर्ने गरी त्यसलाई जतिसक्दो धेरै फैलाउन खोज्नेछन्।

राम्रो वा नराम्रोका लागि खेलाडीको शरीरबारे पनि जाँचपड्ताल हुनेछ। सङ्कोच नमान्ने खेलाडीले त्यस्तो चासोलाई मन पराउन पनि सक्छन्। “उनीहरूको सुगठित शरीर हुन्छ र देखाउँछन्,” बार्कानले भने।

तर एकदमै आत्मविश्वासी प्रतिस्पर्धीलाई पनि त्यस्तो चासो समस्याकारी बन्न सक्छ। “सञ्चारमाध्यमले त्यसबाट के देखाउँछन् भन्ने खेलाडीको हातमा हुँदैन,” बार्कानले भने।

बार्कानका अनुसार महिला र समलिङ्गी खेलाडीबारे पुरुष खेलाडीभन्दा “निसङ्कोच” धेरै कुराको सामना गर्नुपर्ने हुन्छ। यसबारे थुप्रै नजिरहरू छन्।

उदाहरणका लागि सन् १९९९ मा विमिन वर्ल्ड कपका बेला निर्णायक गोल गरेपछि ब्रान्डी च्यास्टेनले आफ्नो जर्सी खोलेपछिको स्पोर्टस् ब्रामात्रै लगाएको उनको तस्बिरले अन्तर्राष्ट्रिय तहल्का निम्त्याएको थियो। जबकि पुरुष खेलाडी सधैँजसो शर्टविहीन नै देखिन्छन्।

“त्यसलाई अमेरिकी सर्वसाधारणले पनि कामुक रूपमा हेरेका थिए,” बोन्ड भन्छिन्।

“म कल्पनामात्रै गर्नसक्छु कि खेलाडीहरू पूर्ण रुपमा नाङ्गा भए भने के हुन्छ होला।”

धेरै खेलाडीका लागि पक्कै पनि लुगा नलगाउँदाको ओलिम्पिक्सले मनोवैज्ञानिक असर धेरै पार्छ।

ओलिम्पिक्सका लागि नाङ्गै खेल्ने कुरालाई स्थायी बनाइयो भने समयसँगै ग्रीक परम्परामा जस्तै त्यसलाई नायकत्व वा उत्सवको दृष्टिकोणले पनि समाजले हेर्नसक्ला। तर त्यो रातारात हुन नसक्ने बार्कान बताउँछन्।

-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार