डोरीले बाँधेर स्थानीय युवकलाई कुट्ने वडाध्यक्ष पक्राउ

जाजरकोट । डोरीले बाँधेर एकजना स्थानीय युवकलाई कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । डोरीले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका हुन् ।

उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सार्वजनिक भएपछि विरोध भइरहेको थियो ।

जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुकाम ल्याइएको जनाएको हो । प्रहरीका अनुसार स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको हो ।

बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताएका छन ।

प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार