‘मेरो सहरमा पुन: कब्जा जमाए तालिबानले मलाई मारिदिन्छन्’

‘म सपनामा बारम्बार तालिबानले मेरो सहर नियन्त्रणमा लिएको देख्छु,’ हबीब भन्छन्।

हबीब अफगानिस्तानका पत्रकार हुन्।

उनी पछिल्लो आठ वर्षयता जर्मनीको सेनाले लगानी गरेको सञ्चारमाध्यममा काम गरिरहेका छन्।

अन्तराष्ट्रिय फौज फिर्ता हुन थालेपछि जुन महिनाको अन्त्यबाट उनको रोजगारी रद्द गरिएको थियो।

तीन हप्ताअघि बीबीसीलाई दिएको अन्तरवार्तामा सुरक्षाको कारण देखाउँदै उनले आफ्नो पहिचान नखुलाइदिन आग्रह गरे।

तीन सन्तानका पिता रहेका उनले भने, “यदि तालिबानले मेरो सहर कब्जा गरे भने उनीहरूले मलाई मारिदिनेछन्।”

अमेरिकी फौज फिर्तीसँगै हालैका साताहरूमा उग्रवादीहरूको पकड मजबुत हुँदै गएको छ र उनीहरूले सरकारी फौजबाट कैयौँ जिल्ला नियन्त्रणमा लिँदै आफ्नो प्रभाव विस्तार गरेका छन्।

उनीहरू कुन्दुज, हेरत, कान्दाहार र लश्कर गाहको नजिक पुगिसकेका छन्।

देशको उत्तरमा रहेको हबीबको सहरमा तालिबान अहिलेसम्मकै सर्वाधिक नजिकको विन्दुमा पुगेका छन्।

उनका अनुसार सडकहरू अधिकांश खाली छन् जसले सम्भावित खराब अवस्थालाई झल्काउँछ।

“मेरो प्रान्तका आधा जिल्ला तालिबानको हातमा छन्। केही दिन पहिले पछाडि धकेलिनु पूर्व उनीहरू सहरको १० देखी १२ किलोमिटर नजिकसम्म आइपुगेका थिए।”

अफगानहरूले दशकौँको द्वन्द्व व्यहोरेका छन्।

धेरैले अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट महिनाभित्र पूर्ण रूपमा फौज फिर्ता गर्ने घोषणा गरेपछि हालसम्मकै खराब अवस्था आउने भय व्यक्त गरिरहेका छन्।

अमेरिकी नेतृत्वका फौजहरू अधिकांश अवस्थामा स्थिरता कायम गर्न सफल रहेका थिए तर अफगान सेनाले त्यो जिम्मेवारी वहन गर्न सक्छ भन्नेमा प्रशस्तै आशङ्काहरू छन्।

त्रासका कारण धेरै जना राहदानी लिन दौडधुप गरिरहेका छन्।

बदलाको त्रास
सन् १९९० को दशकमा छोटो समय शासन गर्दा तालिबानले सार्वजनिक रूपमै मृत्युदण्ड दिएको थियो भने महिलाहरूलाई शिक्षा र रोजगारीबाट वञ्चित गरेको थियो।

तालिबानले आफू परिवर्तित भइसकेको र अब त्यस्तो हिंसामा नफर्कने बताएको छ।

एउटा विज्ञप्तिमा तालिबानले विदेशी सेनासँग काम गर्नेलाई निसाना नबनाइने उल्लेख गरेको छ। तर त्यसका लागि उसले सर्त पनि राखेको छ।

“त्यस्ता व्यक्तिहरूले आफ्नो विगतको गतिविधिलाई लिएर पश्चात्ताप गर्नुपर्छ र भविष्यमा इस्लाम र देशका लागि गद्दारी हुने त्यस्ता गतिविधिमा संलग्न हुनुहुँदैन,” वक्तव्यमा भनिएको छ।

तर हबीब त्यसलाई पत्याइहाल्दैनन्।

अधिकारवादी संस्था ह्युमन राइट्स वाचले उग्रवादीहरूले सरकारलाई समर्थन गरेका नागरिकहरूमाथि बदलाको नियत राखी गरेका आक्रमणहरूको अभिलेख राखेको छ।

हबीबलाई आफूलाई देशद्रोही घोषणा गरिनेमा आशङ्का छैन।

उनले नगद, गरगहना, प्रमाणपत्र र लुगासहित सुटकेस तयार अवस्थामा राखेका छन्।

“हाम्रो समाज द्रुत गतिमा परिवर्तन भइरहेको छ। मलाई मानिसहरूले सार्वजनिक रूपमा नै ‘तिमीले विदेशीहरूका लागि काम गरेका छौँ’ भनेका छन्। त्यसले मलाई अझ डर लागेको छ।”

खतरालाई मध्यनजर गर्दै आफ्ना आफन्त वा साथीहरूले सङ्कटको अवस्थामा जोगाउनेमा उनी ढुक्क छैनन्।

“हामीले जर्मनका लागि काम गर्‍यौ। तालिबानविरुद्ध आलोचनात्मक समाचार प्रकाशित गर्‍यौ। त्यही भएर हामीलाई सबैभन्दा बढी खतरा उनीहरूबाटै छ।”

सूचना आदानप्रदानका लागि हबीब र उनका साथीहरू बेला बेलामा भेटिरहन्छन्।

उनले भने, “मैले सुनेको छु- जर्मनीले आफ्ना सेनाका लागि काम गर्नेहरूलाई शरण दिन गइराखेको छ। तर हामीलाई त्यसको प्रक्रिया वा कति समय लाग्छ त्यो थाहा छैन।”

कतिपयले प्रवेशाज्ञाका लागि आवेदन पनि दिएका छन्। हबीबले भारतीय दूतावासमा प्रक्रिया अघि बढाएका छन्।

मानव तस्करहरूलाई रकम दिएका धेरैलाई आफूले चिनेको उनी बताउँछन्। तर त्यस्तो बाटो रोज्न उनलाई रहर छैन।

“गैर कानुनी रूपमा जानु एकदमै जोखिमपूर्ण हो। हामी डकैतीको सिकार हुनसक्छौँ वा मारिन पनि सक्छौँ। यहाँ मर्नु वा युरोप जाने क्रममा मारिनुमा के नै भिन्नता छ र?”

जोखिम
तर अरू कैयौँले वैध वा अवैध जुनसुकै भाग्ने विकल्पहरू खोजी रहेका छन्।

पूर्वी अफगानिस्तानका एक जना चिकित्सकले बीबीसीसँग भने “मैले यूकेको प्रवेशाज्ञा प्राप्त गर्ने कोसिस गरिरहेको छु। यदि मैले त्यो पाइन भने म गैर कानुनी बाटो हुँदै युरोप छिर्नेछु।”

उनले पछिल्लो तीन महिनामा आफ्ना नौ जना सहकर्मी मारिएको र चार जना घाइते भएको बताए।

ती चिकित्सक चारवटा दक्षिणी प्रान्तहरूमा सार्वजनिक स्वास्थ्य अभियानहरूमा सक्रिय रहेका थिए।

जुन १५ मा नाङगहार प्रान्तमा पाँचजना कामदारहरूको हत्या गरिएपछि उक्त अभियान अवरुद्ध भएको छ।

इस्लामिक स्टेट समूहले उक्त हत्या गराएको आशङ्का गरिएको छ।

ती चिकित्सकहरूले उक्त क्षेत्रमा रहेका सरकार विरोधी समूहहरूबाट आफूले कैयौँ धम्की पाएको बताउँदै सरकारले सुरक्षा दिइसक्नेमा आफू विश्वस्त नरहेको जनाएका छन्।

सात सन्तानका पिता उनी सबै थोक बेचेर जतिसक्दो चाँडो देश छाड्न चाहन्छन्।

चर्को माग
एकदमै कम अफगानहरूमात्रै प्रवेशाज्ञा प्राप्त गर्न सफल भएका छन् र धेरैले आपराधिक सञ्जालहरूको सहयोग लिने गरेका छन्।

“माग ज्यादा छ त्यही भएर मूल्य पनि उच्च छ,” काबुलका एक जना मानव तस्कर भन्छन्।

“मैले एक जना व्यक्तिलाई इटली पुर्‍याउन ८ हजार डलर (करिब ९ लाख ५० हजार रुपियाँ) लिने गर्थे। तर अहिले १० हजार डलर (करिब १२ लाख रुपियाँ) लिने गर्छु।”

औसत आय करिब ६० हजार रुपैयाँ भएको देशका लागि यो ठूलो रकम हो।

ब्रगाम हवाई अखडाबाट अमेरिकी सैनिक फिर्ता भएयता आफ्नो व्यवसाय फस्टाइरहेको काबुलका मानव तस्कर बताउँछन्।

उनले भने, “पछिल्लो दुई हप्तामा मैले करिब १ सय ९५ जनालाई पठाए। म केही दर्जन थप पठाउन गइरहेको छु।”

उनले आफूले आफ्ना ग्राहकहरूलाई सम्भावित जोखिमबारे बताउने गरेको उल्लेख गर्दै त्यो सुन्दा पनि कोही पछि नहट्ने बताए।

कतिपय पक्राउ परेका छन् र अफगानिस्तान नै फिर्ता गरिएका छन्।

उनले भने, “यदी तालिबानले नियन्त्रण जमाए भने अझ मानिस मारिनेछन् त्यही भएर धेरै जनाले जोखिम लिइरहेका छन्।”

मानिसहरूलाई इरान हुँदै टर्कीसम्म तस्करी गरिएको छ र त्यहाँबाट डुङ्गामा ग्रीससम्म पुर्‍याइएको छ।

राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकायका प्रवक्ता बाबर बलोचले समुद्री मार्ग पार गरेर युरोप जाने क्रममा यो वर्ष झन्डै ९०० जनाले ज्यान गुमाइसकेको बताए।

हाल ग्रीसका टापुहरूमा ९ हजार जति शरण खोज्ने व्यक्ति छन्। त्यसमध्ये ४८ प्रतिशत अफगान रहेको उनको भनाइ छ।

यूएनएचसीआरको विश्वव्यापी ट्रेन्ड रिपोर्टका अनुसार सन् २०२० को अन्त्यसम्ममा अफगानिस्तानमा देशभित्र झन्डै ३० लाख मानिस विस्थापित भएका थिए।

विदेशमा विस्थापित हुनेको सङ्ख्या २६ लाख थियो।

यो वर्षको पहिलो ६ महिनामा थप दुई लाख देशभित्र विस्थापित भइसकेको र आन्तरिक एवम् बाह्य विस्थापितहरूको सङ्ख्या अरू बढ्ने राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ।

आशा र चिन्ताको दोधार
उत्तरी अफगानिस्तानमा लामो पर्खाइले हबीबलाई पीडा दिइरहेको छ।

उनको सहर अझै पनि अफगान सेनाको नियन्त्रणमा छ तर तालिबानहरू टाढा छैनन्।

विस्फोटन र बन्दुक पड्किरहेको आवाज उनी सुनिरहन्छन्।

विमानस्थल उग्रवादीहरूको नियन्त्रणमा पुगे भाग्न नसकिने चिन्ता उनको छ।

यो बीचमा उनीसँग रहेका सम्पत्तिको मूल्य व्यापक घटिरहेको छ।

“कसैले पनि कार वा घर किन्न चाहादैँनन्। मानिसहरू सबै थोक बेचेर भाग्न चाहन्छन्।”

हबीब आफ्नो जीवन रक्षा गर्ने एउटा सन्देशको पर्खाइमा छन्।

“हामी आशा र निराशाको दोधारमा छौँ। तपाईँ जर्मनी आउन मिल्छ भनेर लेखिएको इमेल म कुरिरहेको छु।”
-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार