प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार र स्वरोजगारमूलक मिडियाको रक्षाका लागि योजना : अर्थमन्त्री शर्मा

महासंघ र अर्थ मन्त्री विच छलफल

  पहिलोपेज समाचारदाता

 207 पटक हेरिएको

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै स्वरोजगारमूलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा गरेको छलफल कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

महासंघको केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गर्दै कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफलको आयोजना गरिएको हो । कार्यक्रममा अर्थमन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमूलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने बताउनुभयो ।

अर्थमन्त्री शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐनकानुन निर्माण, संस्थागत कमिकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । उहाँले सत्यतथ्य सूचना संप्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ आलोचना गर्न समेत आग्रह गर्नुभयो ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिदै कोभिडले सञ्चार क्षेत्रमा धेरै ठूलो प्रभाव परेको भन्दै पत्रकारहरु पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराउनुभयो । उहाँले मुख्यगरी साना लगानीका सञ्चारमाध्यम र तिनमा आश्रित पत्रकारहरु मारमा परेको भन्दै त्यसको सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

महासंघका महासचिव रोसन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रित परिवारलाई ठूलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताउनुभयो ।

भेटमा कार्यवाहक अध्यक्ष रमेश विष्टले बजेट कार्यान्वयनका साथसाथै सञ्चारसँग सम्बन्धित विभिन्न कानुनको विश्लेषण गरी तयार पारेको पुस्तिका मन्त्री शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार