दक्षिण कोरियाली पुरुषसँग बिहे गर्ने महिलाहरू यसरी फेर्दैछन् पुरानो मान्यता

काठमाडौं । दक्षिण कोरियामा विवाह गर्नुलाई सामाजिक उत्तरदायित्वका रूपमा पनि लिइन्छ।

सन् १९९० ताकापछि दक्षिण कोरियाली सरकारले विशेषतः जोडी नभेट्ने ग्रामीण कोरियाली पुरुषहरूलाई विदेशी महिलासँग विवाह गर्न प्रोत्साहन दिन निम्ति छुट्टै नीति बनाउनुपर्‍यो।

तर ती “वैवाहिक आप्रवासी” महिलाहरूको जीवन सहज छैन। केहीले कोरिया आएपछि सामाजिक भेदभाव तथा लाञ्छना खेप्नुपर्‍यो।

त्यस्तै घरेलु हिंसा र अत्याचारका घटनाबारे पनि विवरणहरू आए।

कैयौँ त्यस्ता महिलाहरू कोरियाली भाषा नजान्ने भए पनि दक्षिण कोरिया आएका थिए।

तर यी सबै कुरा हुँदाहुँदै पनि उनीहरूले कोरियाली समाजमा आफ्ना लागि महत्त्वपूर्ण स्थान बनाएका छन्।

यहाँ त्यस्ता केही उदाहरणहरू छन्।

प्रहरी अधिकृत
किम हानाले नेपालमा आफ्नी एक नातेदरले थाहा नदिईकन गराएको एउटा भेटघाटमा पहिलो पटक आफ्ना पतिलाई भेटेकी थिइन्।

उनका पति दक्षिण कोरियाबाट नेपाल पुगेका थिए र तीन दिनभित्र विवाहबारे कुरा गर्दै थिए।

उनीहरू त्यसै वर्ष कोरिया गए।

उनका अनुसार नेपालमा एकदमै कम अवसर भएकाले काम गर्न होस् वा विवाह गरेर होस् विदेश जान चाहनु नेपाली युवाका लागि सामान्य हो।

एघार वर्षपछि अहिले उनी प्रहरी अधिकृत बनेकी छन्।

उनी कोरियाली जातिबाहिरबाट प्रहरी अधिकृत बन्ने थोरैमध्येमा एक महिला हुन्।

“यस्ता मानिसहरू पनि हुन सक्छन् जसले मलाई रैथाने कोरियालीजत्तिकै राम्रो प्रहरी नठान्न सक्छन्… तर मसँग त्यसबारे सोच्ने फुर्सद छैन,” ३१ वर्षीया उनी भन्छिन्।

किम हानाले कोरियाको कोरियाको अङ्गीकृत नागरिकता लिने बेलामा आफ्नो नेपाली नाम सम्झना राईलाई परिवर्तन गरेकी हुन्।

“जब म पोसाक लगाउँछु र कम्मरमा बन्दुक भिर्छु त्यतिबेला मलाई म ‘कोरियालीजस्ती देखिन्नँ’ भन्ने लाग्दैन,” उनी भन्छिन्।

उनी परराष्ट्र मामिला अधिकृतको रूपमा काम गर्छिन् र नेपाली र कोरियाली समुदायबीच सेतुको रूपमा काम गर्छिन्।

हालैका वर्षहरूमा कोरिया आउने र कोरियाली पुरुषसँग विवाह गर्ने महिलाको सङ्ख्या दुई गुनाभन्दा बढी भएको सरकारद्वारा सञ्चालित मल्टिकल्चरल फ्यामिली सपोर्ट सेन्टरले जनाएको छ।

त्यस्ता महिलाको सङ्ख्या सन् २००७ मा १,२०,११० थियो भने २०१९ मा २,८७,२९८ पुगेको छ।

यद्यपि पूर्वी तथा दक्षिण एशियाली आप्रवासी पत्नीहरू “हुलाकबाट झिकाइएका बेहुली” वा उनीहरूले आफ्ना पतिलाई बेच्छन् भन्ने खालका लाञ्छना लगाउने प्रवृत्ति अझै पनि कायम छ। साथसाथै विभेदहरू पनि अझै बाँकी छन्।

“मलाई अझै पनि याद छ- त्यस बेला मेरो छोरो सानो थियो। म गाडी चढ्दै थिएँ। एकजना मान्छेले मलाई चिच्याउँदै ‘भियतनाम, यहाँ आएर बस्,’ भन्यो,” किम हानाले भनिन्। दक्षिण कोरियालीका विदेशी पत्नीमध्ये भियतनामी महिलाहरू मात्र एकतिहाइ छन्।

तर पनि किम हानाले यस्ता धेरै कुरालाई बेवास्ता गरिन्।

कोरियाली समाजले फरक सांस्कृतिक पृष्ठभूमिका धेरै मानिसलाई सामेल गर्ने कुरामा प्रगति गरेको जस्तो उनलाई लाग्छ।

सन् २००८ देखि कोरियाली सरकारले मल्टिकल्चरल सपोर्ट सेन्टरहरू स्थापना गरेको छ।

“अहिले यहाँ ठूलो विदेशी समुदाय छ र मैले मेरो कामका बेला धेरै फरक मानिसहरू भेटेकी छु,” उनी भन्छिन्।

आप्रवासी अधिकारकर्मी
वोन ओक कुमले पनि आफ्ना पतिलाई पहिलो पटक भियतनाममा भेटेकी थिइन्।

कृषककी छोरी उनले अहिले कानुन प्रशासनमा स्नातकोत्तर गरिसकेकी छन् भने पहिले उनले सोलको मानार्थ नगरप्रमुखको पदवी पनि पाइसकेकी छन्।

गत वर्ष उनले सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टीका पदबाट सांसद पदका लागि चुनाव पनि लडेकी थिइन्, तर जित्न सकिनन्।

उनी गैरकोरियाली जातिबाट यसरी चुनावमा भाग लिने एकदमै थोरै मानिसमध्येकी एक थिइन्।

उनले आफ्नो काम जारी राखेकी छन् र आप्रवासी कामदारप्रति हुने भेदभावको निगरानी गर्ने एउटा कानुनका लागि अभियान चलाइरहेकी छन्।

आफ्नो काम गर्ने अवस्थालाई लिएर हडताल गर्दा पक्राउ परेका भियतनामी कामदारहरूलाई सहयोग गरेपछि उनको जीवनमा एउटा महत्त्वपूर्ण मोड आयो।

उनले भनिन्, “भियतनाममा हुँदा मैले कहिल्यै पनि सत्तामा भएकाहरूलाई उत्तरदायी बनाउनेबारे कल्पना गरेकी थिइनँ, तर ती कामदारहरूले मुद्दा जितेको देखेर दक्षिण कोरियामा हामीले वास्तविक परिवर्तन ल्याउन सक्छौँ भन्ने मैले महसुस गरेँ।”

त्यति हुँदाहुँदै पनि उनलाई कतिपय अवस्थामा तोड पर्छ।

हालै उनले आप्रवासी कामदारहरूको प्रवेशाज्ञाको अवधि बढाउन सहयोग गर्दा एकजना अध्यागमन अधिकृतले उनलाई परम्परागत सम्मानसूचक शब्द प्रयोग गर्दै उनको समस्यालाई सम्बोधन गर्न अस्वीकार गरे।

“यदि मलाई त त्यसरी व्यवहार गरियो भने सोच्नुहोस् अरू आप्रवासी कामदारहरूलाई कसरी व्यवहार गरिन्छ होला,” उनले भनिन्।

दोभासे
ह्वेन कायला (नाम परिवर्तन) सन् १९९९ मा फिलिपिन्सबाट २४ वर्षको उमेरमा सोल आउँदा उनी आफ्नो पतिसँग कोरियाली भाषामा कुराकानी पनि गर्न सक्दिनथिन्।

उनी कहिल्यै पनि विदेश गएकी थिइनन् र त्यो उनको पहिलो सम्बन्ध थियो।

फिलिपिन्समा यूनिफिकेशन चर्चमार्फत् उनीहरूको विवाह भएको थियो।

तर केही वर्षपछि उनको विवाह टिकेन।

उनका पतिले मदिरा सेवन गर्न थाले र परिवार बस्ने घर छाडे। उनले कायला र तीन छोराछोरीका लागि आर्थिक सहयोग बन्द गरे।

“उनले सम्बन्धविच्छेदका लागि भने, तर फिलिपिन्समा त्यसरी सम्बन्धविच्छेद हुँदैन थियो त्यसैले मैले सुरुमा अस्वीकार गरेँ,” उनले भनिन्।

सहयोगविहीन भएपछि कायलाले शिक्षकको जागिर खोजिन्।

“म लामो समयसम्म काम गर्थेँ तर कहिलेकहीँ म मेरो खर्च धान्नेगरी समेत आम्दानी गर्न सक्दिनथेँ,” उनले भनिन्।

आज कायलमा धेरै अगाडि बढेकी छन् र उनी आप्रवासी पत्नीहरूका लागि काम गर्छिन्।

उनी प्रहरी र अध्यागमन सेवाका लागि अनुवादकको काम पनि गर्छिन्।

उनी विवाह गरेर आएका आप्रवासी महिलाहरू उनीहरूले परिवारसँग मात्र होइन संस्कृतिसँग पनि विवाह गरिरहेका छन् भनेर जानकारी गराउँछिन्।

कायला मल्टिकल्चरल सेन्टरहरूले दिएको समर्थनका कारण निकै सहयोग पुगेको बताउँछिन्।

त्यस्ता सेन्टरहरूले अहिले पुरुषहरूलाई पनि कुराकानीमा सहभागी गराउन थालेका छन्।

“कोरियाली पुरुषहरूले बहुसांस्कृतिक परिवार सुरु गर्नुको अर्थ के हो भनेर शिक्षा पाइरहेका छन्, जुन पहिले भएको थिएन,” उनी भन्छिन्।

अन्य कोरियी बालबालिकाले जस्तै आफ्ना छोराछोरीले पनि अवसर पाऊन् भन्ने आफूले चाहेको उनी बताउँछिन्।
-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार