मान्छे देख्दादेख्दै तुइन काट्नु भारतीय पक्षको अमानवीय कार्य : राजमो

  पहिलोपेज समाचारदाता

 549 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नदीमा मान्छे तुइन तरिरहेको देख्दादेख्दै तुइन काट्नु भारतीय पक्षको अत्यन्तै अमानवीय तथा भत्र्सनापूर्ण कार्य भएको बताएको छ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा जारी विज्ञप्तिमा भारतको यस्तो अमानविय कार्यको हाम्रो दलले घोर विरोध तथा भत्र्सना गर्दछ भनिएको छ ।

महासचिव भट्टको विज्ञप्तिमा बेपत्ता जयसिंह धामीको खोजतलास गर्न तथा तुइन काट्ने कार्यमा सङ्लग्न भारतीय सीमा सुरक्षाबलका कर्मचारीलाई कडाभन्दा कडा कारवाहीका तथा पीडित पक्षलाई क्षतिपूर्ति दिलाउनका लागि पहल गर्न सरकारसँग माग गरिएको छ ।

प्रेस वक्तव्यको पूरापाठ
२०७८ साल श्रावण १५ गते बिहान अन्दाजी ८ बजे दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ निवासी जयसिंह धामी नेपालतर्फ वर्षायाममा बाटोको अभावका कारण भारतको बाटो प्रयोग गर्दै वैदेशिक रोजगारीका लागि काठमाडौँतर्फ जान मालघाटस्थित महाकाली नदीमा तुइन तरेर भारत जाने क्रममा महाकाली नदीको बीचमा आइपुग्दा भारतको सीमा सुरक्षाबल एसएसबीले मान्छे तुइनबाट तर्दैछ भन्ने कुरा देख्दादेख्दै र तुइन नकाट्न मान्छे तर्दैछ भनेर स्थानीय व्यक्तिहरुले चिच्याएर चेतावनी दिँदादिँदै पनि तुइन काटेका कारण जयसिंह धामी महाकाली नदीको तीव्र प्रवाहमा खसेर बेपत्ता भएका छन् । नेपाल तथा भारततर्फका नागरिकहरुले यो क्षेत्रमा वर्षायाम यही प्रकारले नियमित तथा जोखिमपूर्णरुपमा आवागमन गर्दै आएका हुनाले यस प्रकारको आवागन कुनै नौलो र अपराधजन्य पनि होइन । नदीमा मान्छे तुइन तरिरहेको देख्दादेख्दै तुइन काट्नु भारतीय पक्षको अत्यन्तै अमानवीय तथा भत्र्सनापूर्ण कार्य हो । भारतको यस्तो अमानवीय कार्यको हाम्रो दलले घोर विरोध तथा भत्र्सना गर्दछ । बेपत्ता जयसिंह धामीको खोजतलास गर्न तथा तुइन काट्ने कार्यमा सङ्लग्न भारतीय सीमा सुरक्षाबलका कर्मचारीलाई कडाभन्दा कडा कारवाहीका तथा पीडित पक्षलाई क्षतिपूर्ति दिलाउनका लागि पहल गर्न सरकारसँग माग गर्दछौँ ।

नेपाल भारत सीमा क्षेत्रमा भारतले लगातार नेपालमाथि हेपाहा प्रवृत्ति तथा थिचोमिचोपूर्ण व्यवहार गर्दै आएको छ । सीमा क्षेत्रका नेपाली जनतालाई भारतीय पक्षले अनावश्यक हैरान पार्ने कुटपीट गर्ने, यहाँसम्मकि हत्यासम्म गर्ने गरेका छन् । गतसाल कञ्चनपुरका गोविन्द गौतमको भारतीय पक्षबाट भएको हत्या उदाहरण हो । यस्ता अपराधजन्य कार्यमा स्वयं भारत सरकारको सुरक्षाफौज नै सङ्लग्न हुने गरेको छ । भारतीय पक्षबाट नेपालीमाथि हुने अपराधजन्य कार्य रोक्न नेपाल सरकारले दृढतापूर्वक भारतसँग कुरा राख्न तथा भारतको यस प्रकारका ज्यादतीपूर्ण कार्यका विरुद्ध लगातार संघर्ष गर्नुपर्ने कार्यमा जोड दिन्छौं ।

मिति : २०७८ साउन १७ गते

मनोज भट्ट
महासचिव

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार