किन सारियो एभरेष्टबाट सिंहदरवारका सबै सरकारी कार्यालयका खाता वाणिज्य बैंकमा ?

  पहिलोपेज समाचारदाता

 217 पटक हेरिएको

काठमाडौं । निजी स्वामित्वको एभरेष्ट बैंकमा हुँदै आएको संघीय संसद सचिवालयका सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सारिएको छ । सांसदहरु तथा मिडियामा समेत उक्त कुराको उठान भएपछि सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा सिंहदरबारस्थित सबै सरकारी कार्यालयहरुको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न थालिएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिका अनुसार राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरवार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागि समेत अनुरोध गरिएको छ । यसअघि सरकारी खाताहरु एभरेष्ट बैंक मार्फत सञ्चालन गरिएको थियो ।

संघीय संसद सचिवालयका प्रवक्ताको प्रेस विज्ञप्ति

लामो समयको अथक प्रयत्नपछि निजी बैंकबाट हुँदै आएको संघीय संसद सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न प्रारम्भ गरिएको छ ।

यसअघि संघीय संसद्को बैठकमा माननीय सदस्यहरूले पटकपटक सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको बिषय उठाउनु भएको र अन्य सार्वजनिक कार्यक्रमहरु र सञ्चारमाध्यमहरुमा समेत यो विषय उठान भएको थियो । यस विषयमा कुरा उठे पनि कार्य प्रगति हुन सकिरहेको थिएन । संसद र अन्य माध्यमहरुमा कुरा उठेपश्चात सम्मानीय सभामुखज्यूको गम्भीर ध्यानाकर्षण भई यस सम्बन्धमा उहाँको निर्देशन मुताविक संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

२०७७ माघ ११ को पत्रबाट आर्थिक बर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाई हुने जनकारी अर्थ मन्त्रालयबाट प्राप्त भएको थियो । सचिवालयले २०७८ असार ३१ गते पुनः ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । सम्माननीय सभामुखको यो पहलपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकलाई समेत सिंहदरवार शाखाको स्तरोन्नति र सेवासुविधा बिस्तारको लागि समेत अनुरोध गरिएको छ । यसअघि सरकारी खाताहरु एभरेष्ट बैंकमार्फत संचालन गरिएको थियो ।

संघीय संसद सचिवालय सम्माननीय सभामुखज्यू, माननीय अर्थ मन्त्रीज्यू लगायत यस कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण निकायका पदाधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

डा. रोजनाथ पाण्डे
प्रवक्ता
२०७८ साउन १७ गते

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार