यस्तो भयो लुम्बिनी प्रदेशको राजधानी भालुवाङको प्रारम्भिक खाका

  तीर्थराज ज्ञवाली

 597 पटक हेरिएको

दाङ (देउखुरी) । लुम्बिनी प्रदेशको राजधानीको विषयमा विभिन्न खालका कुराहरु आइरहँदा सरोकारवालाहरुको सहभागितामा राजधानी शहरको सम्भावित खाका प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिकाको सभाहलमा प्रदेश पूर्वाधार प्राधिकरणको आयोजनामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका सरोकारवालाहरुमाझ राजधानी शहरको खाका प्रस्तुत गरिएका हो ।

राप्ती उपत्यका र सम्भावित शहरको बारेमा राजधानी शहरको खाका तयार गरिरहेको सितारा ईकोकोड, टेक्नोक्रयाट जेभिका परामर्शदाता डा. विजय श्रेष्ठले राप्ती उपत्यकाको सम्भावित खाका प्रस्तुत गदै ब्यवस्थित शहर बनाउन आम नागरिकको सल्लाह लिइने बताउनु भयो । प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख ध्रुव मजगैँयाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी घोषणा भएपछिका उतारचढावका साथै आगामी दिनमा गर्नुपर्ने तयारी र तीब्रताका बारेमा सम्पूर्णमा सजग गराउँदै सहकार्य तथा समन्वयको लागि सबैमा आब्हान समेत गर्नुभयो ।

कार्यक्रममा प्रस्तुत गरिएको शहरको खामामा थप गर्नुपर्ने योजनासहित स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने योजनालाई प्राथमिकता दिन र यस क्षेत्रको सामाजिक, आर्थिक, साँस्कृतिक, वातावरणीय क्षेत्रको सुरक्षाको प्रत्याभूति गराउन छलफल चलाइएको शहरी योजनाकार कुमार धमलाले जानकारी दिनुभयो । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, पूर्व सभासद सुशीला चौधरी, रश्मीराज नेपालीले राजधानीको आगमनको विषयमा विचार ब्यक्त गर्दै राजधानी शहरको लागि कामको तीब्रतामा जोड दिनुभयो ।

निर्माण गरिने शहरको खाकामा राष्ट्रिय, अन्तर्राष्ट्रिय नीतिनियमको परिधिमा रहेको सुहाउँदो शहर निर्माणका लागि सम्वन्धित निकायलाई सिफारिस गरिने योजनाकार धमलाले जानकारी दिनुभयो । सहभागीबाट यस क्षेत्रको सवल र दुर्वलपक्ष, अवसर र चुनौतिको बारेमा छलफल चलाउँदै आगामी राप्ती उपत्यका राजधानी शहरको परिकल्पना समेत गरिएको कार्यक्रममा राजधानी शहर परामर्शदाताका तर्फबाट शहरी योजनाकार कुमार धमला, यातायात योजनाकार डा. प्रदीप श्रेष्ठ, अर्थविद् कुमार भट्टराई, आर्किटेक्ट सुरेन्द्र लुइँटेलले राजधानी शहरको सम्भावित खाकाबारे प्रष्ट्याउनु भएको थियो ।

शहरी योजनाकार कुमार धमलाले लुम्बिनी प्रदेशको राजधानी शहरको सम्भावित खाका निर्माणको क्रममै रहेकोले राजधानी शहर परामर्शदाताहरुलाई आम नागरिकले सकारात्मक सुझाव दिनसक्ने बताउनु भयो । सुझावका लागि मोबाइल नं. ९८५१०७६२६५ वा इमेल ठेगानामा समेत सम्पर्क गर्न सबैमा अनुरोध समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार