साउन १६ गतेदेखि फेरि कडा निषेधाज्ञा, कोरोनाको उच्च जोखिममा अर्घाखाँची

  पहिलोपेज समाचारदाता

 204 पटक हेरिएको

काठमाडौं । कोरोनाको दोस्रो लहर सेलाउँदै जाँदा अर्घाखाँची भने कोरोनाको उच्च जोखिममा परेको छ । कोरोनाको अति उच्च जोखिमको सूचीमा परेपछि अर्घाखाँचीमा साउन १६ देखि लागू हुनेगरी कडा निषेधाज्ञा हुने भएको छ ।

साउन १६ गते राति १२ बजेबाट लागु हुनेगरी साउन ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो ।

मुलुकका १७ वटा जिल्ला कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।

अर्घाखाँचीसँगै छिमेकी कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान जिल्ला पनि अति उच्च जोखिमको सूचीमा छन् । जिल्लामा गएको ३ दिनमा २ सय संक्रमित थपिएका छन् ।

मंगलबार ८७ जना संक्रमित थपिँदा बुधबार ६९ जना संक्रमित थप भएका थिए । बिहीबार ४४ जना संक्रमित थपिएपछि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको हो । निषेधाज्ञा यसअघि पनि रहेतापनि नाम मात्रको निषेधाज्ञा रहेको थियो ।

कोरोनाको जोखिम कम गर्न अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र खुल्नेछन् । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा बिहीबार बेलुकासम्मको तथ्याङ्कमा ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार