पूर्वमाओवादी नेताको रिटको पेसी आज

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ ।

नेकपा (माओवादी केन्द्र)को कारबाहीपछि प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

उनीहरु परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च अदालत पुगेका थिए । गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उनीहरुको दाबी छ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो ।

भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार