सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । बिहीबार बिहान सत्ता साझेदार दलहरुको बैठक बस्दैछ । बैठक आज बिहान ८ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ। सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो। सो बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्न मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन्। अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ।

देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीमात्रै छन्। मन्त्री नहुँदा सरकारको काममा प्रभावकारीता नदेखिएको गुनासो आउन थालेका छन्।

यसअघि गठबन्धनका नेताहरूले हिजो बुधबार पनि छलफल गरेका थिए। हिजोको बैठकमा मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो।

बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार