काठमाडौंमा आजदेखि भेरोसेलको खोप लगाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि भेरोसेलको खोप लगाइने भएको छ ।

यसअघिको अभियानमा खोप लगाउन छुटेका ५५ वर्ष माथिकाले आजदेखि खोप पाउने भएका हुन्। यसअघि छुटेका ५५ वर्ष माथिका उमेरकालाई खोप दिने तयारी गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

महशाखाका अनुसार चिनियाँ भेरोसेल खोप दिन लागिएको हो। ५५ वर्ष उमेर समूहका साथै अत्यावश्यक सेवा तथा पेशामा संलग्न भएका र यसअघिको अभियानमा छुटेकालाई पनि खोप दिने तयारी छ।

खोप अभियानका लागि तयारी अवस्थामा रहन तीन जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक गौतमले बताए।

तीनै जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयले पनि विभागको निर्देशन आउने वित्तिकै खोप अभियान सुरु गर्न तयारी अवस्थामा रहेको बताएका छन्।

सुरुमा ५५ वर्ष माथिका छुटेकालाई खोप दिइने र पछि उमेर समूह घटाउँदै अभियान निरन्तरता दिने तयारी स्वास्थ्य सेवा विभागले गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।
यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन्।

यस्तै, फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार