रोल्पाको उत्तर पूर्वी सिमाक्षेत्रमा अवस्थित तिलाचन दह धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोके तापनि राज्यको नजर नपुग्दा अझै ओझेलमै छ ।
सुनछहरी गाउँपालिका— १ सेरमको घुसबाङ लेक क्षेत्रमा पर्ने तिलाचनमा वि.सं. १९८० सालदेखि स्थानीय क्षेत्री र मगर समुदायले वर्षेनी आलोपालो साउनको पूर्णिमामा बराहदेवताको पूजापाठ गर्दछन् ।
तिलाचन दहमा पूजापाठ गरेमा मनले चिताएको कुरा पूरा हुने जनविश्वास रहेको छ । सोही जनविश्वासका कारण पूजापाठको निम्ति सेरम, उवा पूर्वी रुकुमको लुकुम र बाग्लुङ भलकोटदेखि भक्तजनहरु आउने गरेको स्थानीय मानित घर्तीमगरले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र पूर्वी रुकुमको सिमाना भलकोट पातिहाल्नेदेखि करीब आधा घण्टाको पैदल यात्रापछि तिलाचन दहमा पुगिन्छ । तिलाचन दह पहाडको चुचुरोमा ३५४० मिटरको उचाइमा झण्डै ५ सय वर्गमिटरमा फैलिएको छ ।
तिलाचन क्षेत्रमा चरिचरणको लागि खुला गरिएको छ । स्थानीयहरुले गाईवस्तु, भेडाबाख्रा चरिचरण गर्दछन् । चरिचरणले गर्दा ती क्षेत्रमा फुल्ने विभिन्न बुकीफुलहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । दहको आकार पनि साँघुरिने अवस्थामा पुगेको छ ।
तिलाचनको संरक्षण र व्यवस्थापनमा कसैको ध्यान नगएको स्थानीय युवाहरुको गुनासो छ । तिलाचनको संरक्षण, प्रचारप्रसार र विकासको लागि धेरै पहल भएको तर माग सम्बोधन नभएको तिलाचन युवा क्लब घुसबाङका प्रतिनिधि यमराज बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै पहल गरियो तर माग पूरा भएन ।” उहाँले स्थानीयले मात्र गरेर सम्भव नभएको बताउनुभयो ।
जम्मा हुने भेटी संकलन गर्न नै समस्या
तिलाचनमा व्यवस्थित मन्दिर नभएकोले दैनिकरुपमा दह दर्शन गर्न आउने दर्शनार्थीहरुले चढाएको भेटी चोरी हुने गरेको पुजारी पुस्तमन बुढाथोकीले बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले पुूजापाठ गर्दा मात्र संकलन गर्दछौं । अरुबेला चढाएको भेटी गोठालाहरुले चोरी गरी लैजाने गर्छन् ।” एकपटक पूजापाठ गर्दा २० हजार जति आर्थिक आम्दानी हुने गरेको पुजारी बुढाथोकीले बताउनुभयो । संकलन गरिएको भेटी घुस्बाङ गाउँको आर्थिक कोषमा राखी गाउँकै विद्यालय सञ्चालनमा खर्च गरिएको स्थानीय चेतमान पुनमगरले बताउनु भयो ।
तिलाचन नाम कसरी रहन गयो ?
परापूर्वकालमा गाउँमा मान्छे मरेपछि स्वर्ग जाने बाटोको रुपमा यसलाई चिनिन्थ्यो । मान्छेहरु गोठालो जाँदा आउँदा उक्त स्थानमा मरेको मान्छेको लागि भेटी चढाउने चलन थियो । स्थानीय खाम भाषामा भेटीलाई किला र चढाउनेलाई चन भनिन्छ । त्यसैले यस ठाउँलाई किलाचन भनिएको र पछि अपभ्रंश हुँदा तिलाचन नाम रहन गएको स्थानीयहरुको भनाइ छ ।
दहको उत्पत्ति कसरी ?
वि.सं. १९८० सालमा हाल दह रहेको स्थानमा घुसवाङका स्थानीयहरुले भेडा राख्दै आएका थिए । जेठको महिना एक साँझ घुसबाङका मतसिङ घर्तीमगर र अमर बुढाथोकी क्षेत्रीले भेडा राखी सुतिरहेका थिए । राति मतसिङ घर्तीमगरको सपनामा एक्कासी अदृश्य शक्तिले “यो ठाउँ छोडेर अन्त जानू । हामी आउँदै छौं” भने । बिहान घर्तीमगर उठेर आफ्नो साथीलाई ती कुरा बताए तर अमर बुढाथोकीले विश्वास गरेनन् । दिउँसो घाम लागिरहेको समयमा चट्याङसहित पानी पर्नुको साथै हावाहुरी चल्यो । ती ब्यक्तिहरुको आधाभन्दा बढी भेडाहरु चट्याङबाट मरे भने मरेका भेडा निकाल्दा निकाल्दै त्यस ठाउँमा पानी जम्मा हुन थाल्यो र त्यसले दहको रुप लियो । ती ब्यक्तिहरुले आफ्नो भेडाहरु त्यस ठाउँबाट रुकुमतर्फ लगे । दुई महिनापछि मतसिङ घर्तीमगर एक्कासी अपाङ्ग भएपछि धामीझाँक्रीलाई हेराउँदा तिलाचनको देवता लागेको भनेर बताए । त्यसपछि मतसिङ घर्तीमगरले भेडाको बलि चढाई साउन पूर्णिमामा पूजापाठ गरेपछि यस ठाउँमा पूजापाठ शुरु गरिएको स्थानीयहरुको भनाइ छ ।
तिलाचनमा लेकसल्ला, लालीगुराँस, चाँप लगायतका वनस्पति पाइन्छन् । बाघ, भालु, बँदेल, मृग, झारल, रेडपाण्डा लगायतका वन्यजन्तुहरु पाइन्छन् । त्यस्तै, डाँफे, कालिज, मुनाल, चिल, काग, कोइली लगायतका पंक्षी पनि पाइन्छन् । विभिन्न प्रकारका जडिबुटी पाइने तिलाचनमा पाँचऔंले, जटामसी, तिते, सतुवा, भुतकेश, पदमचाल लगायतका जडिबुटी पाइन्छन् ।
तिलाचनबाट उत्तरमा विभिन्न हिमालय शृङ्खलाहरु देखिन्छन् । तिलाचनकै अगाडि चौरीबुकी, धौलागिरी, माछापुछ«े, निलगिरी, मानाभरे, पाथिभरा हिमाल, सिस्ने हिमाल मज्जाले नियाल्न सकिन्छ ।