जीन्स लगाएको निहुँमा आफन्तहरूले ‘कुटेर मारे’ नेहालाई

काठमाडौं । भारतमा एक किशोरीलाई जीन्स लगाएको निहुँमा कुटेर हत्या गरिएको छ ।

बिबिसी हिन्दीका अनुसार गत साता भारतको उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा १७ वर्षीया नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको हुन्।

किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेको उनकी आमा शकुन्तलादेवी पासवानले बताएकी छन् ।

दिनभरि व्रत बसेकी नेहाले साँझमा जीन्स र टप लगाएर पूजा गरेकी बताइएको छ । उनका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाएका थिए । उक्त विवाद बढेको र त्यसले हिंसाको रूप लिएको बताइएको छ । शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए।

उनीहरूले शकुन्तलादेवीलाई संगै जान नदिएपछि उनले आफ्नो आफन्तलाई त्यसबारे जानकारी गराएको र जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई नभेटेको जनाएका छन् ।

भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाएकी र त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको बताइन्।

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको बीबीसीले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार