सत्ताबाट बाहिरिए पनि ओलीको शैलीमा सुधार आएन : नेपाल

  पहिलोपेज समाचारदाता

 220 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताबाट बाहिरिएपछि पनि केपी ओलीको शैलीमा सुधार नआएको टिप्पणी गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा नेता नेपालले प्रधानमन्त्री पदबाट हटेपछि पनि ओलीको शैलीमा सुधार नआएको र यसले पार्टीभित्रै समस्या परेको टिप्पणी गर्नुभएको हो । उहाँले आफूहरुलाई आममाफी दिन्छु भन्ने ओलीको भनाई कुनै महाराजधिराज भन्दा कम नभएको भन्दै कटाक्ष गर्नुभयो ।

उहाँले पार्टीभित्र ओलीले कम्युनिष्ट प्रवृत्ति देखाउन नसकेको बताउनुभयो । नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको बताउनुभयो । उहाँले पार्टीमा चुनौति आयो भन्दैमा आत्तिनु पर्ने अवस्था नभएको बताउनुभयो । नेपालले आफूविरुद्ध ओली पक्षका युवासंघ परिचालित भएको भन्दै आफू तर्सिने मान्छे नभएको जिकिर गर्नुभयो । साउन ३ गते गम्भीर षड्यन्त्र भएको भन्दै सबै कुराको गहिरो चिरफार हुनुपर्ने समेत उहाँले बताउनुभयो ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले अरुभन्दा ओली अझ बढी निरंकुश र तानाशाही रहेको टिप्पणी गर्नुभयो । सडक र सरकारमा भएका कम्युनिष्टले तालमेल गरेर क्रान्ति गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले शासन व्यवस्थामा परिवर्तन भएपनि राज्यव्यवस्था यथावत् रहेको बताउनुभयो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्थालाई भ्रष्टाचारी व्यवस्थाको संज्ञा दिनुभयो । उहाँले वर्तमान राजनीतिक प्रणाली नेपाली जनताको हितमा नरहेको बताउनुभयो । बास्तोलाले राजनीति लाभ लिनका लागि मात्र भइरहेको र पैसा खर्च गरेमात्र प्रधानमन्त्री बन्न सकिने भन्दै आफ्नो पार्टीबाट बिप्लव पनि प्रधानमन्त्रीको दाबेदार भएको समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले कोभिड १९ विरुद्ध खोप मागिरहँदा नेताले भने भोट मागिरहेको बताउनुभयो । केसीले कम्युनिष्ट बन्नु अहिले फेसन भएको भन्दै कम्युनिस्ट पार्टी र गैर कम्युनिस्टलाई कसरी छुट्याउने भन्दै प्रश्न गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार