ब्रम्हाकुमारीमा परिचय एवं स्वागत सम्मान कार्यक्रम

  पहिलोपेज समाचारदाता

 623 पटक हेरिएको

दाङ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, घोराही दाङको आयोजनामा भर्खरै दाङ जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रहरी उपरीक्षक सुरेश काफ्ले र नेपाल पत्रकार महासंघको केन्दीय उपाध्यक्षमा नवनिर्वाचित उदय जीएमसँग परिचय एवं स्वागत तथा सम्मान कार्यक्रम भएको छ । ब्रह्माकुमारीज राप्ती क्षेत्रका प्रमुख राजयोगिनी गीता दिदीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जीवनको उद्देश्य शान्ति र आनन्द प्राप्ति हो भन्दै त्यसका लागि इश्वरीय ज्ञान र राजयोग साधनाको गहन भूमिका रहेको बताउनुभयो । कानून भन्दामाथि विश्वास, आस्था, आचरण र भावनाले समाजलाई निर्देशित गर्दछ भन्दै कर्मचारी शासक र प्रशासक नभई जनताको सेवक भएको बताउनुभयो । उहाँले जिल्लामा शान्ति सुव्यवस्था, अमनचयन तथा सुशासन कायम राख्न आफू सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले हाम्रो संस्कृति, सभ्यता र चेतनामा विचलन आएका कारण समाजमा अपराधिक गतिविधिहरु बढ्दै गएको र आधुनिकताका नाममा हाम्रो समाज विखण्डनतर्फ जाँदै गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । त्रासदी वैमनस्यता र संकटको समयमा ध्यान मेडिटेशन र मानसिक शान्ति आवश्यक रहेको भन्दै आफ्नो कार्यकालमा प्रहरी यस्तो पो हुनुपर्छ भन्ने जनतामा छाप पार्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

अर्का अतिथि नेपाल पत्रकार महासंघका केन्दीय उपाध्यक्ष उदय जीएमले पत्रकार महासंघको ६५ वर्षे इतिहासमा दाङले केन्द्रीय अध्यक्षसहितको नेतृत्व पाएको उल्लेख गर्दै मिडिया क्षेत्रसँग ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयले समन्वयात्मक एवं सुमधुर सम्बन्ध स्थापित गरेको बताउनुभयो । उहाँले विश्वविद्यालयका गतिविधिले समाजमा सकारात्मक मार्ग तय गर्न सफल भएको धारणा राख्नुभयो ।

विश्व शान्तिको कामनासँगै महिला नेतृ विमला योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा घोराही सेवाकेन्द्रका सञ्चालिका ब्रह्माकुमारी उर्मिला दिदी र विमला योगीले संयुक्तरुपमा आमन्त्रित व्यक्तित्वहरुलाई स्थानीय अल्लोको टोपी, खादा, फूलगुच्छाद्वारा स्वागत सम्मान गर्नुभएको थियो ।

दाङको घोराहीमा दानवीर देवराज पाण्डेबाट दानस्वरुप प्राप्त भएको साढे ७ कठ्ठा जमिनमा २० करोड लागत अनुमान रहेको निर्माणाधीन करिव २०० क्षमताको आवासीय तथा ५०० क्षमताको बहुउद्देश्यीय अडिटोरियम हल लगायत मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र परियोजना संरचनाको कार्यप्रगतिबारे निर्माण उपभोक्ता समितिका अध्यक्ष यज्ञबहादुर भण्डारीले जानकारी गराउनुभएको थियो । संघीय, प्रदेश र स्थानीय सरकारबाट १ करोड १० लाख तथा संस्थाका सदस्य तथा अन्य व्यक्ति र संस्थाबाट प्राप्त हुन आएको करिव १ करोड समेत कूल २ करोड १० लाख रकमले आवासतर्फको २ तला ढलान, दक्षिणी बाउण्डरिङ वाल, सेफ्टी ट्यांकी समेतको भौतिक कार्य सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले नैतिक, आध्यात्मिक, शैक्षिक, पर्यटकीय गन्तव्य लुम्बिनी प्रदेशको सान दाङको गहनालाई सिंगार्न आगामी दिनमा सवैबाट सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रमको सहजीकरण संस्थाका प्रवक्ता ब्रह्माकुमार माधव तिमिल्सेनाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार