चित्रबहादुर केसीद्वारा सर्वोच्चको आदेशको स्वागत

  पहिलोपेज समाचारदाता

 209 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सर्वोच्च अदालतले हिजो सरकारका विरुद्ध दिएको अन्तरिम आदेशलाई स्वागत गर्नुभएको छ । अध्यक्ष केसीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “केपी शर्मा ओली लगातार स्वेच्छाचारी, असंवैधानिक तथा निरंकुश ढंगबाट सत्ता सञ्चालन गरिरहेको कार्यका विरुद्ध सर्वोच्चको यो अन्तरिम आदेशले प्रहार गरेको छ । त्यसैले हाम्रो पार्टीले सर्वोच्च अदालतद्वारा जारी आदेशको स्वागत गर्दछ ।”

विज्ञप्तिको पूर्णपाठ
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढड्डबाट गरेको मन्त्रिपरिषद् विस्तारको निर्णयका विरुद्ध सर्वोच्च अदालतले संसद भङ्ग गर्नुभन्दा अगाडिको मन्त्रिपरिषद्का सदस्यहरुलाई कायम राख्दै त्यसपछि फरक–फरक मितिमा दुईपटक गरिएको मन्त्रिपरिषद्को विस्तारलाई अवैध घोषित गरी मन्त्रिपरिषद्का सदस्यहरुलाई मन्त्रीको हैसियतले कामकाज गर्न रोक लगाउन प्रथम नजरमा अन्तरिम आदेश जारी गरेको छ । केपी शर्मा ओली लागातार स्वेच्छाचारी, असंवैधानिक तथा निरङ्कुश ढड्डबाट सत्ता सञ्चालन गरिरहेको कार्यका विरुद्ध सर्वोच्चको यो अन्तरिम आदेशले प्रहार गरेको छ । त्यसैले हाम्रो पार्टीले सर्वोच्च अदालतद्वारा जारी आदेशको स्वागत गर्दछ ।

सरकारको स्वेच्छाचारी तथा निरंकुश कार्यलाई नियन्त्रण र सन्तुलनमा राख्नका लागि संविधानले संसद तथा सर्वोच्च अदालतको संवैधानिक व्यवस्था गरेको छ । उक्त संवैधानिक व्यवस्थालाई खतम गर्नका लागि संसदलाई विघटन गर्ने तथा सर्वोच्च अदालतलाई समेत धम्काउने वा आफ्नो अनुकूल निर्णय गराउन न्यायाधिशहरुलाई प्रभावित पार्ने कार्य गर्दै आएका छन् । त्यस्तो अवस्थामा मन्त्रिपरिषद्का २० जना सदस्यलाई अवैध घोषणा गर्ने सर्वोच्चको यो आदेशले संविधानको रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

ओलीले शुरुदेखि नै संवैधानिक व्यवस्था, विधिको शासन तथा संविधानको सर्वोच्चतालाई लत्याउँदै स्वेच्छाचारी ढंगबाट सरकार चलाउने तथा विभिन्न निर्णयहरु गर्दै आइरहेका थिए र छन् । उनको यो कार्य देशको संवैधानिक व्यवस्था तथा विधिको शासनका विरुद्ध थियो र छ । उनको यो कार्यले देशको राजनीतिक प्रणालीलाई नै कमजोर पार्ने र अन्ततः २०६२÷६३ सालका उपलब्धिहरु गुम्ने खतरा समेत उत्पन्न भइरहेको छ । ओलीको कार्यले देशको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षतामाथि खतरा त छँदैछ त्यसका साथै नेपालको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षताका विरुद्ध रहेका विदेशी शक्तिहरुसँग आफ्नो सत्ता संरक्षणका लागि उनीहरुको रणनीतिका समेत हिस्सेदार बनेको कारण स्थिति झन गम्भीर बनेको छ । यदि ओलीका विरुद्ध संघर्ष गरिएन भने देशको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षता खतम हुने स्थिति पैदा भएको छ । त्यसैले ओलीले लादेको प्रतिगमनका विरुद्ध संघर्ष गर्नका लागि सम्पूर्ण प्रतिगमन विरोधी शक्तिहरुका बीच सहकार्यको आवश्यकता छ । ओलीको बहिर्गमन नै अहिलेको राजनीतिको मुख्य कार्य हो । त्यसका लागि संयुक्त संघर्षलाई अगाडि बढाउनु पर्ने आवश्यकता छ ।

चित्रबहादुर केसी
अध्यक्ष
राष्ट्रिय जनमोर्चा
२०७८ असार ९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार