व्यवसायीसँग सञ्चार क्षेत्रले सहकार्य गरेर अघि बढ्ने : पोख्रेल

  पहिलोपेज समाचारदाता

 157 पटक हेरिएको

दाङ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले उद्योगी तथा व्यवसायीहरुसँग सञ्चार क्षेत्रले सहकार्य गरेर अगाडि वढने बताउनु भएको छ ।

व्यवसायिक क्षेत्र र सञ्चार क्षेत्र एक अर्काका परिपुरक रहेको पनि अध्यक्ष पोख्रेलले बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो ।

‘व्यवसायीहरु र सञ्चार क्षेत्रबीच विगतदेखि नै सहकार्य हुँदै आएको छ’ अध्यक्ष पोख्रेलले भन्नुभयो । व्यवसायिक क्षेत्रको विकासका लागि सञ्चार माध्यमले विगतदेखि नै भूमिका खेल्दै आएको र आगामी दिनमा पनि त्यो कायम रहने उहाँको भनाइ रहेको छ । व्यवसायी तथा उद्यमीहरुले आफूहरुले गरेका कुराहरुबारे जानकारी दिन समेत उहाँले आग्रह गर्नुभयो । आफूहरुले गरेका कामका बारेमा जानकारी गराएमा बाहिर ल्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो । अहिले कोभिडका कारण व्यवसायिक क्षेत्र र सञ्चार क्षेत्र समस्यामा परेको बताउँदै अध्यक्ष पोख्रेलले अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर आर्थिक क्षेत्रलाई चलायमान गराउनु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जीएमले आर्थिक तथा औद्योगिक क्षेत्रको विकासमा सञ्चार क्षेत्रको सहकार्य रहेको र रहिरहने बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघसँग विगतदेखि नै सहकार्य रहँदै आएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि सहकार्य रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष पोख्रेल, उपाध्यक्ष जीएम र किरण थापालाई अविर र खादा लगाएर सम्मान गरिएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार