सुरक्षा निकाय र कर्मचारीलाई पुनको चेतावनीः ओली गुटले जे भन्यो त्यही मान्दा फस्नुहोला

  पहिलोपेज समाचारदाता

 386 पटक हेरिएको

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन “अनन्त”ले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

उहाँले आफैं निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो । संविधानमै प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने स्पष्ट उल्लेख भएको चर्चा गर्दै उहाँले ओलीले पूर्ण अधिकार छ भन्नु अनैतिक र गैरसंवैधानिक भएको टिप्पणी गर्नुभयो ।

“कथित चुनाव घोषणापछि राजीनामा दिएको भए र राष्ट्रपतिले कामचलाउको चिठी दिएको भए वैधानिकताको सानो त्यान्द्रो भए पनि बाँकी रहन्थ्यो”, पुनले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै मिल्दैन । केपी ओली अवैधानिक प्रधानमन्त्री हो ।” मन्त्री पुनले कामचलाउ सरकारले संविधान र कानुनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गर्नुभयो ।

एउटा गुट र व्यक्तिका लागि जे–जे भन्यो त्यही गर्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । “सुरक्षा निकाय र प्रशासनका कर्मचारीलाई कामचलाउन सरकारले दिएका निर्देशन संविधानसम्मत छ कि छैन ? कानूनसम्मत छ कि छैन ? जनअभिमतअनुसार छ कि छैन ? भन्ने विचार गरेर मात्र गर्न म अनुरोध गर्छु”, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका अगुवा कार्यकर्ता भेला ताथ प्रशिक्षणलाई आइतबार बर्दियामा सम्बोधन गर्र्दै पुनले भन्नुभयो, “एउटा गुटका लागि, एउटा व्यक्तिका लागि भोलि पछुताउनुपर्ने अवस्था नआओस् । म अहिले नै सचेत गराउन चाहन्छु, सुझाव दिन चाहन्छु ।” यस्तै उहाँले संसद विघटनपछि गरिएका सबै काम असंवैधानिक हुने भन्दै संसद पुनस्र्थापनापछि ती सबै सच्याइने बताउनुभयो । प्रतिनिधिसभा विघटनपछि गरिएका सबै नियुक्ति, सरुवा र महत्वपूर्ण निर्णय पुनस्र्थापनापछि तत्काल सच्याइनेछ । त्यसैले खबरदार, त्यसप्रकारका गैरकानुनी कामहरु नहोऊन्”, पुनले भन्नुभयो ।

यस्तै आइतबारै बाँकेमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पुनले प्रधानमन्त्री केपी ओलीले संविधान मिच्नुका साथै जनताको अभिमतमाथि कुठाराघात गरेको टिप्पणी गर्नुभयो । असंवैधानिक रुपमा संसद विघटन गर्ने ओलीको कदमले लोकतन्त्रमाथि चुनौती खडा भएको तथा मुलुकलाई प्रतिगमनतिर धकेलिएकाले आफूहरु बाध्य भएर संघर्षमा उत्रिएको पुनको भनाइ थियो ।

तत्कालीन एमाले र माओवादी एकता गर्दा गरिएका समाजवाद, राष्ट्रिय पूँजी निर्माण, देश विकास र जनताको जीवनस्तर उकास्ने अभियानबाट केपी ओली भागेको आरोप उहाँले लगाउनुभयो । “नेपाललाई समाजवादको दिशामा लैजाने र जनताको जीवनस्तर उकास्ने अभियानबाट केपी ओली र ओली गुट भागेको छ”, पुनले भन्नुभयो, “इतिहासमा ओली समूह कम्युनिष्ट आन्दोलन, विचार, विधि र निष्ठाबाट भागेको प्रवृत्तिका रुपमा दर्ज हुनेछ ।”

पार्टीको विशाल पंक्ति प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपामा रहेको भन्दै उहाँले कार्यकर्ताले असंवैधानिक कदमलाई साथ नदिएपछि पदको आश्वासन बाँड्न थालिएको बताउनुभयो । “कफी सपमा दूध चिया, कालो चिया, कालो कफी र दूध कफीको मेन्यू बाँडेजस्तै ओलीले भेराइटी–भेराइटीका पदको मेन्यू बाँड्दै हिँड्नुभएको छ”, पुनले भन्नुभयो, “कसैलाई मन्त्री, कसैलाई प्रतिनिधिसभाको सांसदको टिकट, प्रदेशसभाको टिकट, महानगर÷नगरपालिकाको मेयर, गाउँपालिकाको अध्यक्ष र राजनीतिक नियुक्तिको प्रलोभन बाँडेर आफूतिर तान्ने प्रयास गरिरहनुभएको छ ।” तर, त्यसका बाबजुद पद प्रतिष्ठा बाँड्न सक्ने अवस्थामा नरहेका प्रचण्ड–नेपालको पक्षमा पार्टीको विशाल पंक्ति उभिएकाले अन्ततः निष्ठा, विचार र सिद्धान्त केन्द्रित राजनीतिको जित हुने निश्चित रहेको भनाइ उहाँको छ ।

ओलीले गल्ती स्वीकार गरेर प्रतिनिधिसभा ब्युँताउने निर्णय गरे फेरि पार्टीमा फर्काउन सकिने उहाँले स्पष्ट गर्नुभयो । “अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो हिंडेकामा पश्चात्ताप गर्दै संसद पुनस्र्थापना गरेर आउनुहुन्छ भने हामी एकताको हात अघि बढाउन तयार छौं”, उहाँले भन्नुभयो, “तर, केपी ओलीले त्यसो नगर्लान् । ओली घमण्ड र अहंकारमा डुब्नुभएको छ । राष्ट्रिय÷अन्तराष्ट्रिय शक्तिले उहाँलाई उचालेका छन् ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार